विराटनगर, ३ माघ । आयात तथा निर्यात पारवहनमा सहजता ल्याउन भारत सरकारद्वारा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी) हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
विराटनगर महानगरपालिकाको भेडियारीमा भारतको सहयोगमा निर्माण भएको एकीकृत जाँच केन्द्र यो साताभित्रै हस्तान्तरण गरिने भएको छ । स्रोतका अनुसार माघ ७ गतेभित्रै आईसीपी हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
एकीकृत जाँच केन्द्र एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । भारतको सीमा क्षेत्र र नेपालको सीमाक्षेत्र दशजालाई सीमा बनाएर जाँच केन्द्र निर्माण गरिएको हो ।
नेपालतर्फ भित्रिने पर्यटकीय सवारी, मालबाहक सवारी भारततर्फको जाँच केन्द्र हुँदै नेपालतर्फको जाँच केन्द्रमा प्रवेश गर्नेछ ।
भारत सरकारको एक सय १४ करोड भारतीय रुपैयाँमा सो एकीकृत जाँच केन्द्र निर्माण भएको हो । सो जाँच केन्द्र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया