काठमाडौं, २१ चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीबाट पीडित परिवारका लागि प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।
काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि एकीकृत बस्ती निर्माण गर्ने जनाएका हुन् ।
उनले भने,‘प्रदेश सरकारले उनीहरुको लागि सामूहिक पुनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’ उनले आँधीमा घाईते भएहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने पनि बताए । घाइतेहरुको उपचारमा कुनै कमी हुनुहुँदैन भन्ने कुरामा प्रदेश सरकार सचेत र गम्भीर रहेको उनले बताए ।
फरक प्रसंगमा उनले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको स्पष्ट पारे । उनले भने,‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोच पनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनु हुँदैन ।’
तपाईको प्रतिक्रिया