जलेश्वर, ३ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर २ स्तरीय एथलेटिक्स खेलमा छनौट खेलाडीहरुलाई जलेश्वरमा सम्मान गरिएको छ ।
सम्मानित हुनेमा हाईजम्प खेलमा पुरुष तथा महिलातर्फबाट प्रथम स्थान हासिल गरेका जीवन साह एवं अम्बिका धमला, पाँच तथा दश हजार मिटर एवं हाफ मेराथन २१ किलोमिटर दौडमा महिलातर्फ प्रथम लक्ष्मी महतो कुशवाहा र ट्रिपल जम्प पुरुषतर्फ मुकेश ठाकुर छन् ।
त्यस्तै दोस्रो स्थान प्राप्त गरि सम्मानित हुनेमा चारसय मिटरको रिले दौडमा मोहम्द सलाउद्दिन, राइन, मुकेश ठाकुर, जीवन साह र युनिस आले मगर एवं डिसक्सथ्रो खेलमा महिलातर्फबाट लक्ष्मी महतो कुशवाहा, ज्यमलिङ्गथ्रो पुरुषतर्फबाट राकेश साह, महिलातर्फबाट अम्बिका धमला, १५ सय मिटर एवं आठसय मिटर दौड पुरुषतर्फ युनिस आले मगर सम्मानित भएका छन् ।
यसैगरि तेस्रो स्थान प्राप्त गरेका लङ्गजम्प महिलातर्फका अम्बिका धमला र डिसक्सथ्रो पुरुषतर्फका राकेश साहलाई सम्मानित भएका छन् ।
प्रदेशस्तरीय एथलेटिक्सको विभिन्न विद्यामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका यी खेलाडीहरुलाई प्रदेश सांसद रानी शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले प्रमाणपत्र तथा मेडल हस्तान्तरण गर्दै खादा ओढाई सम्मान गरे ।
बजरंग युथ क्लवले आयोजना गरेको सम्मान कार्यक्रममा सांसद शर्मा तथा प्रमुख मिश्रले क्लव तथा खेलाडीहरुलाई आवश्यक सहयोग गरिरहने प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा प्रशिक्षक चन्देश्वर झाले एथलेटिक्स खेल तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति महोत्तरीले कुनै व्यवस्था तथा वास्ता नगरेको आरोप लगाए ।
कार्यक्रममा कराँते प्रशिक्षक विन्देश्वर साह, वरिष्ठ कराँते खेलाडी अरुण राई,पूर्व प्रशासक अर्जुन शर्मासहितको सहभागिता थियो ।
यसै कार्यक्रमबाट नेपालगंज हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जीवन साह, अम्बिका धमला, लक्ष्मी महतो कुशवाहा, मुकेश साह, युनिस आले मगर र राकेश साहलाई बिदाई समेत गरिएको हो ।
तपाईको प्रतिक्रिया