एनसेलको बैटरी चोरी गरेको आशंकामा तीन जना पक्राउ

समाचार

5/29/2019

रौतहट, १४ जेठ । रौतहट जिल्लाको कटहरियाबाट प्रहरीले एनसेल मोबाइल कम्पनीको चोरी भएको बैटरीसहित तीन जनालाइ पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रहरीले स्थानीय कटहरिया नगरपालिका वडा नम्बर ५ निवासी ओमप्रकाश साह, मनोज साह कलवार तथा स्थानीय वडा नम्बर ९ डुमरिया बस्ने अभिनाश साहलाइ चोरीको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको हो ।

प्रहरीले ४ थान बैटरीसमेत बरामद गरेको छ । ओमप्रकाश साहको पसलबाट १ थान, मनोज साहको मासु पसलबाट २ थान तथा अभिनाशको मासु पसलबाट १ थान गरी ४ थान बैटरी बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई अनुसन्धानको कार्यमा सहयोग गर्ने शर्तमा रिहा गरिएको प्रहरी निरीक्षक अनमोल खडकाले बताएका छन् ।

चोरी गरेको प्रमाण तत्काल उपलब्ध हुन नसकेको र चोरी गरेको भन्ने अवस्था नरहेकोले तत्काल रिहा गरिएको प्रहरी निरीक्षक खडकाको कथन रहेको छ ।

विभिन्न समयमा चोरी भएको बैटरी रहेको बुझिएको छ । पक्राउ परेकालाई अरुले झुक्याएर बिक्री गरेकोले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ