एपीएफ स्कुलका छात्राका लागि भारतद्वारा छात्रावास भवन निर्माण

समाचार

12/22/2019

काठमाडौं, ६ पुस । भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरेका छन् ।

नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, रमेश महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर, सरस्वती खड्का, कीर्तिपुर नगरपालिकाका उपमहापौर सामुदायिक नेतृत्वकर्ताहरुको उक्त उद्घाटन समारोहमा उपस्थिति थियो ।

सन् २००५ मा स्थापित यस नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बलअन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो ।

यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ जसमा २१ प्रतिशतभन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाको कार्यान्वयन नेपाल सशस्त्र प्रहरी बलले गरेको हो ।

भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयनकक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधासहित ३२ वटा कोठाहरु रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भारत सरकार यस परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको छ । साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना पनि गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ