काठमाडौँ, १५ चैत । प्रदेश २ मा एसईईको प्रश्न पत्र लगातार आउट भएपछि आजको अनिवार्यसामाजिक विषयको परीक्षा स्थगित भएको छ । यस विषयको प्रश्नपत्र परीक्षा अगाडि नै बाहिरिएकाले राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी चैत २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।
बिहीबार पनि विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षापूर्व नै बाहिरिएपछि प्रदेश भरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा शुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनःसामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको परीक्षा स्थगन गरिएको जानकारी दिए ।
‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ,’, शर्माले भने, ‘त्यसैले हामीले नियमिततर्फको आजको परीक्षा स्थगित गरेका छौं ।’ नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको जानकारी शर्माले दिए ।
प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । विज्ञान विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए । तर, प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।
यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । त्यसबारे छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि आउट भएको हो ।
संघीय सरकार जिम्मेवार
यता, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे ।
प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।
प्रदेश २ को परीक्षा प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै गरेकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ ।
प्रदेश सरकारले प्राविधिक शिक्षाको हब बनाउने नीति लिएकाले त्यसलाई विफल बनाउने योजनाअनुरुप यस्ता गतिविधि भइरहेको दाबी मुख्यमन्त्री राउतले गरे ।
तपाईको प्रतिक्रिया