काठमाडौं, १० चैत । वैज्ञानिक तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले एसईई परीक्षार्थीहरुलाई शुभकामना दिँदै ११ सूत्रीय टिप्स दिएका छन् ।
डा.राउतले परीक्षार्थीहरुलाई परीक्षाको अघिल्लो राती समयमा नै सुत्ने र पर्याप्त ७–८ घंटा सुत्ने (यसले मेमरी सेटल हुन्छ, दिमागी हलचल कम हुन्छ र अर्को दिन पढेको कुरा स्मरण गर्न सजिलो हुन्छ भन्ने टिप्स दिएका हुन् ।
डा.राउतले बिहानै सुर्योदय सँगै (ठीक अघि) उठने, धेरै ढिलो चाँडो हैन, परीक्षामा जाँदा चाहिने प्रवेशपत्र, कलम, औजार–वक्स आदि ठीक पारेर राख्ने लगायतका टिप्सहरु दिएका छन् ।
डा.राउतका टिप्सहरु यस्ता छन् :
१. परीक्षाको अघिल्लो राती समयमा नै सुत्ने र पर्याप्त ७(८ घंटा सुत्ने (यसले मेमरी सेटल हुन्छ, दिमागी हलचल कम हुन्छ र अर्को दिन पढेको कुरा स्मरण गर्न सजिलो हुन्छ ।
२. बिहानै सुर्योदय सँगै (ठीक अघि) उठ्ने, धेरै ढिलो चाँडो हैन ।
३. परीक्षामा जाँदा चाहिने प्रवेशपत्र, कलम, औजार वक्स आदि ठीक पारेर राख्ने ।
४. सके सम्म खाली पेट नै जाने, वा परीक्षा भन्दा करीब २ घंटा अगाडी हल्का मात्रै खाने ।
५. परीक्षा कोठासम्म परीक्षा शुरु हुने समय भन्दा १०–१५ मिनेट अगाडी नै पुग्ने, परीक्षा हलमा जानु अगाडी नै शौचालय जाने, हल छिरे पछि आफ्नो सीटमा बसेर व्यवस्थित भई आखाँ चिम्लेर १०–२० पटक लामो श्वास विस्तारै लिने र छोड्ने ।
६. आफ्नो उत्तर पुस्तिकामा राम्ररी आफ्नो रोल नम्बर तथा अन्य विवरण भर्ने र पुनस् चेक गर्ने ।
७. प्रश्न पत्र पाइसके पछि पहिला प्रश्न पत्र पूरै पढने, र आफूलाई आउने तथा कम समयमा चाँडै लेख्न सक्ने उत्तरहरु पहिला लेख्ने ।
८. हरेक प्रश्नको उत्तरको लागि अंक अनुसार लगभग समानुपातिक रुपमा समय दिने, कुनै पनि प्रश्नमा आवश्यकता भन्दा बढी समय सम्म अल्झेर न बस्ने, कतै धेरै बेर अड्केको खण्डमा त्यहाँ खाली ठाउँ राखेर अर्को प्रश्नको उत्तर पहिला दिने र अड्केको उत्तरलाई अरु प्रश्नको जवाब दिइ सके पछि हेर्ने ।
९. सबै प्रश्नको उत्तर दिई सके पछि पुनस् सबै जाँच्ने(शिक्षकको नजरले चेक गर्ने, तर अन्तिम समयमा आत्तिएर उत्तर बदल्ने हैन बरु त्रुटि भएको रहेछ भनेर आफू पूर्ण विश्वस्त भइसके पछि मात्रै सच्याउने ।
१०. अरु विद्यार्थी भन्दा पहिला सकाउने र समय भन्दा पहिला नै उत्तर पुस्तिका बुझाउने होडबाजी न गर्ने, बरु अन्तिम समय सम्म परीक्षा हलमै बस्ने र आफ्नो उत्तर पुस्तिका राम्ररी हस्तान्तरण गर्ने ।
११. परीक्षा हलबाट निस्कि सके पछि बिति सकेको कुरालाई लिएर अनावश्यक छलफल, बादविवाद, चिन्ता, पछूतो आदि नगर्ने, बरु अर्को दिनको विषयमा तुरुन्तै ध्यान लग्ने ।
तपाईको प्रतिक्रिया