काठमाडौं, २३ मंसिर । सामाजिक अभियन्ता विमला गौचन डा. भीमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् ।
भारतीय संविधान निर्माता डा. अम्बेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन् ।
नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो । विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष पनि हुन् ।
यसैगरी डाक्टर अम्बेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन् । जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पु¥र्याए बापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ ।
जातीय विभेदविरूद्ध अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाइरहेकी छन् ।
यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए । भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए।
भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया