कटहरिया नगरपालिकामा भ्रष्टाचार बढ्यो : उपप्रमुख खातुन

समाचार

6/22/2019

रौतहट, ७ असार । रौतहटको कटहरिया नगरपालिकाका उपप्रमुख नूर जहाँ खातुनले नगरप्रमुख एकहरो रुपमा बहुमतको दम्भमा नगरसभा गर्न लागेको आरोप लगाएकी छन् ।

आर्थिक वर्ष २०७४।०७५ मा योजना तर्जुमाको कुनै पनि प्रक्रिया पूरा नगरी बलजवर्दस्ती नगरसभा गरेका मेयर सियाराम कुशवाहाले आगामी आर्थिक वर्ष ०७६।०७७ को नगर परिषद् गर्न लागिएको बताउँदै उप प्रमुख खातूनले नगरपालिकामा भ्रष्टाचार चरम सीमा नाघेको दावी गरेकी छन् ।

२०७४।०७५ मा विना कुनै प्रक्रिया पूरा गरी गरेको नगर सभाको विरुद्ध अदालतमा मुद्दा हालेकोमा उक्त मुद्दा चलती अवस्थामा रहेको बताइन् ।

उनले भनिन्, गत आर्थिक वर्षको हिसाव किताब सार्वजनिक गर्न माग गर्दा पनि जानकारी दिन आनाकानी गर्दै आएको छ । कटहरिया नगरपालिकामा मेयर कुशवाहाले विकास अनुदानको रकममा व्यापक अनियमिता गरेको ठोकूवा गरेकी हुन् ।

बजारको ठेक्का, ढुङ्गा बलुबाको ठेक्का, सशर्त अनुदानको रकम, नगरपालिकाबाट खरीद भएको निर्माण उपकरण, जेसीवी, मालपोत करको आयको कुनै लेखाजोखा नदिएको उपमेयरको भनाइ रहेको छ ।

उपप्रमुख खातूनले राजश्व समितिको बैठक नै नबसाई बहुमतको आधारमा परिषद् गर्ने कार्य योजना बढाएको जिकिर गरे । जनताको प्रतिनिधि भएको हैसियतले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने कर्तव्य रहेको तर मेयर कुश्वाहाले अधिकारमा दमन गरिरहेको आलोचना गरिन् ।

राजश्व समितिको संयोजक भएको नाताले भएको खर्चको हिसाव किताबको जानकारी लिनु प्रमुख दायित्व रहेको हुँदाहुँदै मेयर कुशवाहा अधिकार कुचल्दै अघि बढ्ने प्रयास गरिरहेको गुनासो गरिन् ।

ठूलो नेताको बलमा नगर प्रमुख र प्रमुख प्रसाशकीय अधिकृत मिलेर विभिन्न शीर्षकमा रकम अनियमिता गरेकोले छानविन गर्नु पर्ने माग गरेकी छन् ।

आगामी आर्थिक वर्षको नगर सभा गर्नुभन्दा गत आर्थिक वर्षको आय व्यय सार्वजनिक गर्नु पर्ने जोड़ दिएकी छन् । उपमेयरको कुनै पनि अधिकार माथि हस्तक्षेप नगरेको मेयर कुश्वाहाले दावी गरेका छन् ।

मेयर कुश्वाहाले पटक पटक राजश्व समितिको बैठक गर्न पत्राचार गर्दा उपमेयरले पत्र नबुझेको बताएका छन् ।

तीन दिनभित्र समितिको निर्णय दिन पठाएका पत्र उपप्रमुखले बुझी सकेकोले समयमा निकास नदिए नगर कार्यपलिकको बैठकबाट सो निर्णय गर्ने बताएका छन् ।

आफ्नो अधिकार प्रयोग गर्न अप्ठ्यारो भइरहेकोले अरुको अधिकार माथि हस्तक्षेप किन गर्ने मेयर कुश्वाहाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ