काठमाडौँ, २ माघ । ‘अन्डरवल्र्ड डन’ दाउद इब्राहिमले नेपालको संघीय राजधानी काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ । अन्डरवल्र्डका डनका रुपमा चिनिँदै आएका दाउद इब्राहिमले पछिल्लो समय काठमाडौँलाई समेत आफ्नो अड्डा बनाउँदै आएको खुलेको हो । यो खुलासा दाउदकै समूहमा काम गरिसकेका एजाज लकडावालाले गरेका छन् ।
नेपालबाटै भारतको पटना पुगेका एजाजलाई जनवरी ८ मा भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीसँग सोधपुछ गरिरहेको भारतीय प्रहरीले दाउदका बारेमा अहम् खुलासा भएको जनाएको छ ।
उनले मोस्ट वान्टेड दाउद इब्राहिमका पाकिस्तानको कराचीमा रहेका दुई घरको ठेगाना पनि भारतीय प्रहरीलाई दिएका छन् । भारतीय सुरक्षा अधिकारीहरूले लकडावालाको गिरफ्तारीलाई अत्यन्तै ठूलो उपलब्धि भनेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार एजाजले काठमाडौँमा अड्डा बनाएर दाउदले आफ्नो कारोबार गर्दै आएको बयान भारतीय प्रहरीसमक्ष दिएका छन् । भारतीय पत्रिका दैनिक जागरणकाअनुसार नेपालस्थित पाकिस्तानी दूतावासका खास अधिकारीमार्फत दाउदले काठमाडौँबाट आफ्नो धन्दा चलाउँदै आएको बयान एजाजले भारतीय प्रहरीलाई दिएका हुन् ।
अर्को पत्रिका प्रभात खबरले जनाएअनुसार एजाजसँग मुम्बई प्रहरी र राष्ट्रिय गुप्तचर एजेन्सीहरुका तर्फबाट पनि सोधपुछ भइरहेको छ । अन्डरवल्र्ड डन दाउद इब्राहिमले नेपालमा विभिन्न कम्पनीमा करोडौं रकम लगानी गरेको जानकारी एजाजले बयानका क्रममा भारतीय प्रहरीलाई दिएको बताइन्छ ।
लकडावालाले प्रहरीसमक्ष दाउदको थाइल्यान्ड र बंगलादेशमा पनि राम्रो पकड रहेको र ती दुई देशबाट भारत, युरोप र अन्य मुलुकमा लागुपदार्थ पठाउने गरेको बयान दिएका छन् ।
काठमाडौँमा दाउद कम्पनीले करोडौँको लगानी गरेर निकै ठूलो कारोबार खडा गरेको छ । सबैभन्दा ठूलो लगानी इन्फ्रास्टक्चर क्षेत्रमा छ । कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा उसको लगानी छ ।
यसमा नेपालका कयौँ नेताहरुको पनि पार्टनरशिप रहेको भारतीय पत्रिकाले दाबी गरेको छ । एजाज हाल मुम्बई प्रहरीको नियन्त्रणमा छन् । एजाज कुनै बेला दाउदका खास सहयोगी मानिन्थे ।
सन् १९९३ मा मुम्बई विस्फोटपछि उनी छोटा राजनसँगै दाउद समूहबाट अलग भएका थिए । केही समय उनी छोटा राजनको समूहमा रहेर काम गरे पनि रकम बाँडफाँडमा मतभेद भएपछि उनले आफ्नै नेतृत्वमा छुट्टै समूह खडा गरी अन्डरवल्र्डमा सक्रिय भएका थिए ।
तपाईको प्रतिक्रिया