जनकपुरधाम, ४ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालामा मुख्यमन्त्री राउतले उपभोक्ताको मानव अधिकार कार्यान्वयनमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।
’खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन आवश्यक छ,’ मुख्यमन्त्री राउतले भने, ’स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई छैन । विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने कानुन आवश्यक छ ।’
खाद्यान्नमा बढ्दो विषादीका कारण उपभोक्ता गम्भीर प्रकृतिको रोगबाट ग्रसित हुनुपरेको उनले बताए । ’विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु भएर पनि कार्यान्वयन हुन सकेको थिएन,’ राउतले भने, ’कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य भएका छन् ।’
तपाईको प्रतिक्रिया