काठमाडौं, ९ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र ऐनको मर्म बिपरित नियमावली र निर्दे्शिका जारी गर्न नहुने बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वसन समितिले बिहीबार आयोजना गरेको प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिय कार्यक्रमको उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मअनुसार ऐन र ऐनअनुसार नियमावली तथा निर्देशिका जारी गर्नुपर्ने बताएका हुन् ।
‘संविधानले सबैकुरा व्यक्त गर्न सक्दैन, त्यसैले ऐन निर्माण गरिन्छ, ऐनमै पनि दैनिक कार्यसञ्चालनका लागि आवश्यक सबै कुरा बिस्तृतमा उल्लेख गर्न सकिँदैन’ उनले भने, ‘त्यसले गर्दा नियमावली तथा निर्दे्शिका आवश्यक पर्छ । तर, त्यो संविधानको मर्मअनुसार भएको छ वा छैन भन्ने कुरा सावधानीपूर्वक कानुन निर्माण गर्नेले हेर्नुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले संघीय संसदबाट बनेका ऐनअनुसार बन्ने नियमावली तथा निर्दे्शिका संविधान र ऐनको मर्म विपरित भएको छ कि भन्ने चिन्ता हुने गरेको बताए ।
उनले सरकारले जारी गर्ने नियमावली र निर्देशिका संविधान र ऐनको भावना तथा मर्मअनुसार भए/नभएको निगरानी गर्न र त्यसको अध्ययन गरेर आवश्यक निर्देशन दिन राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बनेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया