रौतहट, ७ फागुन । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर अभय सिंह भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान लगायत दर्जनौं अपराधमा संलग्न मौलापुर–८, सोनरनिया घर ४० वर्षीय कुर्मीलाई चन्द्रपुर नगरपालिका ४ स्थित पटेल धन्सार–जंगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले पटेलको पिछा गर्दै आएको थियो ।
जंगलमा गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ गरेर उनलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतटहका प्रहरी प्रमुख एसपी रविराज खड्काकाअनुसार उनको बाँया खुट्टामा दुई गोली लागेको छ ।
जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ । भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेको एसपी खड्काले जानकारी दिए ।
तपाईको प्रतिक्रिया