काठमाडौं, १६ माघ । नेपालको पुर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोनाभाइरसको निगरानी तथा परामर्श सुरु भएको छ ।
भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोनाभाइरसको संक्रमणका लागि छानबिन गर्न सुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको हो ।
कोरोनाभाइरसको लक्षण पाइए त्यस्ता व्यक्तिलाई थप परीक्षणका लागि नजिकैको अस्पतालको लग्ने व्यवस्था गरिएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।
भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चारवटा ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । नेपालतर्फ भने पुर्वी नाका काँकरभिट्टामा दुई जना प्रयोगशाला प्राविधिकको व्यवस्था गरी एउटा परामर्श शिविर राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कोरोनाभाइरस परामर्श शिविरमा जनशक्ति तथा उपकरणहरू थप्ने योजना छ ।
तपाईको प्रतिक्रिया