सांघाई, १० फागुन । सांघाई चीनको सबैभन्दा ठूलो सहर र विश्वकै वित्तीय केन्द्र हो । झन्डै साढे दुई करोड जनसंख्या रहेको यो सहरका मुख्य सडक र बजार सुनसान छन् अचेल । कोरोना भाइरसले देशका विभिन्न ठाउँमा २२ सयभन्दा बढीको मृत्यु भएपछि मानिस बाहिर निस्कन डराइरहेका छन् ।
पसलमा ग्राहक प्रवेश गर्ने्बित्तिकै पसले केही राहत महसुस गर्छन्। तर पसलमा नवागन्तुकको शरीरको तापक्रम परीक्षण गरेर मात्र प्रवेश दिइन्छ । चीनका सरकार नियन्त्रित सञ्चारमाध्यमले भाइरस संक्रमण नियन्त्रणमा सफलता प्राप्त गरिरहेको भन्दै प्रशंसा गरिरहेका छन् । सरकार नियन्त्रित ग्लोबल टाइम्स पत्रिकाले केही साताको अवरोधपछि अब बिस्तारै आर्थिक गतिविधि चलायमान हुने भन्दै विभिन्न लेखको शृंखला नै प्रकाशित गरेको थियो ।
चिनियाँ समाचार संस्था सिन्हवाले कोरोना भाइरसबाट संक्रमितध्ये पहिलोपटक धेरै संख्यामा उपचारपछि घर फर्किएको र संक्रमण दर पनि घट्दै गएको समाचार प्रकाशित गरेको थियो । तर सरकारी सञ्चारमाध्यमको यस्तो उत्साहजनक टिप्पणी सांघाई जस्ता सहरमा प्रतिबिम्बित हुन सकेको छैन । जहाँ भाइरस संक्रमणको त्रासले दैनिक जीवनमा ठूलो असर गरिरहेको छ ।
सांघाईमा हालसम्म ३३३ जनालाई भाइरस संक्रमण भएको छ । जसमध्ये दुई जनाको निधन भइसकेको छ । सहर यतिबेला किनारीकृत भएजस्तो देखिन्छ ।
सांघाईका होटलहरूले ग्वांगडोंग र हुबेई प्रान्तबाट आएका पर्यटकलाई बास दिँदैनन् । ती दुई प्रान्तमा महामारी फैलिएको छ । होटलका स्टाफ आफैं सजगपूर्वक आगन्तुकको शरीरको तापक्रम परीक्षण गरिरहेका छन् ।
मार्च २६ देखि अप्रिल २ सम्म तय भएको सांघाई फेसन सप्ताहको कार्यक्रम रद्द गरिएको छ । भाइरस संक्रमणको डरले सांघाईको डिज्नेल्यान्ड जनवरी अन्त्यदेखि बन्द छ । सांघाईका बासिन्दाको जीवन सामान्य दैनिकीभन्दा धेरै भिन्न छ । धेरैजसो मानिस घरबाहिर निस्कन पाएका छैनन् । बाहिर जानैपरेमा अस्थायी सुरक्षा चौकीमा स्वास्थ्य अवस्था र यसअघि गरिएको यात्राबारे जानकारी गराउनुपर्छ ।
अमेरिकासँग व्यापार युद्ध चलिरहेका कारण चिनियाँ अर्थतन्त्र विपरीत दिशातर्फ लम्किरहेको छ । सन् २०१९ मा चीनले तीन दशकयताकै मन्दी व्यहोरिरहेको विश्लेषक बताउँछन् । चीनको घरेलु अर्थतन्त्रमा साना व्यवसाय मुख्य हिस्सेदार हो । तर कोरोना संक्रमणबाट मुक्त नभएसम्म ग्राहक बढ्ने छैनन् भने राजस्व पनि संकलन हुन सक्दैन ।
चीनका प्रमुख सहरहरू अहिले एक प्रकारको बन्द अवस्थामा छन् । अमेरिकाजस्ता केही देशहरूले चिनियाँ नागरिकको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।
तपाईको प्रतिक्रिया