बारा, ३ कार्तिक । बाराको कलैया उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबारदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कलैया वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेलबासे लगायत कर्मचारीलाई दुव्र्यवहार गर्नुको साथै भौतिक आक्रमणको प्रयास गरेकोले उनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका हुन् ।
कर्मचारी आन्दोलनका कारण उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द भएका छन् ।
वडा अध्यक्ष सहनीको आक्रमणबाट योजना शाखाको झ्यालको शिशा समेत फुटेको कर्मचारीहरुले बताएका छन् । वडा अध्यक्ष सहनीले विगतमा पनि विभिन्न शाखाका कर्मचारीहरुलाई धम्की दिने, दर्ता केरमेट गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको कर्मचारीहरु बताउँछन् ।
बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले प्रमुख प्रशासकीय अधिकृतबाट दुव्र्यवहार भएको गुनासो सहितको ज्ञापनपत्र आएको र घटनाबारे बुझ्नुका साथै समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया