कैलाली, ८ असार । साझा पार्टीले आफ्ना शुभचिन्तक र सदस्यहरुबाट संकलित रकम तथा श्रमदान गरी केहि दिन अघिको हावाहुरीबाट कैलालीमा क्षति भएका ११ घरहरुको पुनर्निर्माण गरिदिएको छ ।
पार्टीको कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको घर पुनर्निर्माण गरेको सो पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए ।
पार्टीले धनगढी पुरानो भन्सारका जुवेद शेख, कनरीकी निर्मला ओझा, गौरी लामा, करन बोगटी, मतादेवी साउँद, हरि सार्कीको घर पुनर्निर्माण गरिदिएको जनाएको छ ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी लक्ष्मी दमाई, कमला बिक, कनरीका जोगी राना, जुगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर पुनर्निर्माण गरिएको छ ।
पार्टी सदस्य र शुभचिन्तकहरुबाट सहयोग उठाएर १ लाख २९ हजार ५२५ रुपैयाँको जस्ता पाता तथा कÞिला खरीद गरी पार्टी सदस्यहरुले श्रमदान गरेर सम्पन्न उक्त ११ घरको पुनर्निर्माण गरिदिएको कुरा संयोजक हमालले बताए ।
राजनैतिक पार्टीले बिरोध प्रदर्शन र हड़ताल मात्र गर्छन् भन्ने छाप आम जनमानसमा परिरहेको सन्दर्भमा साझा पार्टीको यो कामलाई सुदूरपश्चिममा निकै सकारात्मक पक्षबाट हेरेको पाईएको छ ।
तपाईको प्रतिक्रिया