कालो दिवस मनाउँदा पक्राउ परेकाहरुलाई रिहा गर्न थर्ड एलायन्सको माग

समाचार

9/19/2018

काठमाडौं, ३ असोज । नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिन मनाउने क्रममा पक्राउ परेका सयौं नेता कार्यकर्ताहरुलाई रिहा गर्न तराई मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ ।

संविधान दिवसको विरोध स्वरुप शान्तिपूर्ण तरिकाले गरिएको प्रदर्शन तथा सभाबाट सयौँ प्रदर्शनकारीहरुलाई गैरकानूनी तरिकाले पक्राउ गरिएको भन्दै थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘संविधान जारी गर्ने क्रममा तराई मधेशमा संविधानमा असहमति जनाउदै भएको चरणबद्ध आन्दोलनलाई बेवास्ता गरी मिति २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो ।’ थर्ड एलायन्सको विज्ञप्तिमा भनिएको छ, ‘जसकारण उक्त दिन विरगंजमा अत्यधिक बल प्रयोगबाट एक जना प्रदर्शनकारी मारिएका थिए भने संविधान जारी हुुनुअघि र पछि विभिन्न ठाउँमा पचासौँ जना मारिनुको साथै सयौँ प्रदर्शनकारीहरु घाइते भएका थिए । जसले गर्दा उक्त दिनलाई मधेसी, जनजाती लगायत अल्पसंख्यक तथा सिमान्तकृत समुदायहरुले संविधान र सरकारको स्वेच्छाचारी कार्यको विरोध स्वस्प विभिन्न कार्यक्रम गर्दै आएका छन् ।’

कालो दिवस मनाउने क्रममा काठमाडौंको माइतीघरबाट करिब २५ जना अधिकारकर्मी, सप्तरीको भारदहबाट २ जना, राजविराजबाट १ जना, जनकपुरको विभिन्न चौकबाट करिब एक सय जना, पर्साबाट ७ जना, बाराबाट ९ जना, नवलपरासीबाट ५ महिलासहित २० जना, रौतहटबाट ३५ जनाभन्दा बढी प्रदर्शनकारीलाई स्वेच्छाचारी ढंगले पक्राउ गरी गैरकानूनी तरिकाले हिरासतमा राखिएको थर्ड एलायन्सले जनाएको छ ।

यसरी प्रहरीले गैरकानूनी तरिकाले पक्राउ गरिएको कार्यबाट विचार अभिव्यक्ति स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र न्यायको हक लगायतका संविधान प्रदत्त मौलिक हकमा आघात परेको थर्ड एलायन्सको निष्कर्ष छ ।

तसर्थ, पक्राउ परेकाहरुलाई तत्काल विना शर्त थुनामुक्त गरी मानवअधिकारको संरक्षण तथा संवद्र्धन गर्नको लागि नेपाल सरकार लगायत सम्बन्धित सम्पूर्णलाई थर्ड एलायन्सले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ