जनकपुरधाम, १० चैत । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
१३६औ विश्व क्षयरोग दिवस तथा सार्क क्षयरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विगतमा क्षयरोग नियन्त्रणका लागि सरकारले गरेको लगानी अनुरुप प्रतिफल प्राप्त हुन नसकेको भएपनि अगामी दिनमा त्यो समस्या आउन नदिने बताए ।
उनले प्रदेशमा व्याप्त अशिक्षा र खुला सिमानाका कारण स्वास्थ्यमा सोच अनुरुपको प्रगति हुन नसकेको स्वीकार गर्दै अबको दिनमा क्षयरोग जस्ता रोगहरुको नियन्त्रण तथा उन्मुलनका लागि प्रदेश सरकार सतर्कताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।
पछिल्ला एक दशक जनप्रतिनिधिविहीन रहेका कारण समेत अनुगमन निरीक्षण हुन नसक्दा कार्यक्रमहरु प्रभावकारी हुन नसकेकोले अबको दिनमा नियमित अनुगमन निरीक्षण गर्दै क्षयरोग नियन्त्रणका लागि कडा रुख अख्तियार गरिने उल्लेख गरे ।
मुख्यमन्त्री राउतले हालको संक्रमणकालीन अवस्था लामो समय नरहने जिकीर गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका कर्मचारी अभाव जस्ता समस्या केही दिन भित्रै समाधान गरिने बताए ।
सामाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राज्यमन्त्री अभिराम शर्मा, सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक डा. राजन पन्त, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. प्रमोद यादव सहितले आआफ्नो मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया