किसानका लागि आएको रकम अनुगमन र भत्तामा खर्च

समाचार

12/26/2018

रौतहट, ११ पुस । प्रदेश सरकारले किसानका लागि अनुदान मूल्यमा गहुको विउ खरीद गरी वितरण गर्न दिएको ७८ लाख ५० हजार रुपैयाँको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले भत्ता र अनुगमनमा बढी खर्च गरेको पाइएको छ ।

प्रदेश सरकारको २०७५।८।७ गतेको निर्णय अनुसार आएको दोस्रो चौमासिक रकम ७८ लाख ५० हजार रुपैयामा करीव ६ लाख रुपैयाँ अनुगमन निरिक्षण, दैनिक भ्रमण भत्ता, इन्धन मरमत, बैठक तथा विधुत संचारमा खर्च गरिएको हो ।

सानहरु विउको लागि छटपटिदै गरेको अवस्थामा कर्मचारीहरु सोही रकममा मौजमस्ती गरेको छ । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत हृषिकेश झा जनकपुर गएको बापत ६ हजार ७ सय भ्रमण भत्ता लिएका छन् ।

२०७५।०७६ को स्वीकृत कार्यक्रम सम्वन्धी छलफलको लागि मङ्सिर १ गते गएका झा ले ५ गते सम्मको रिक्सा, बस भाडा बापतमा उक्त रकम बुझेका हुन् ।

मङ्सिर १२ गतेको ज्ञान केन्द्रले राष्ट्रिय विउ विजन कम्पनी लिमिटेड हेटौडालाइ गरेको चलानी नम्बर ७० को पत्रको आधारमा विउ विजन कम्पनीले मङ्सिर १३ गतेमा ६९ मेट्रिक टन विउ उपलब्ध गराएको थियो । १३ गतेमा विउ आएपनि किसानहरु उक्त विउबाट वंचित भएका छन् ।

४४ रुपैयाँ प्रति किलोको दरले विक्री गर्नका लागि दिएको विउ कृषक सहकारी सस्थाहरुले कालोबाजारी मार्फत ८० देखि ९० रुपैयाँ प्रतिकिलो विक्री गरेका छन् । गहुँको विउमा व्यापक रुपमा अनियमितता भएको देख्दा पनि प्रदेश सरकार मौन भई बसेको छ ।

विउ विजन कम्पनीले ज्ञान केन्द्रको प्रमुख राजनारायण यादवको सिफारिशको आधारमा विश्वनाथ विज भंडार गौर ९ लाई ४ मेट्रिक टन १०० बोरा, मनोज विज भंडार गौर ८ लाई ४ मेट्रिक टन १०० बोरा, किसान सेवा बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड गौर ८ लाई १०० बोरा, यादव एग्रोभेट कन्सर्न गौर ८ लाई १०० बोरा एम् एस ट्रेडर्स जेनरल सप्लायर्स गौर ४ लाई १०० बोरा, साह विज भंडार प्रोप्राइटर रामबाबू साहलाई ७५ बोरा, स्नेहा विज भंडार गौरलाई ७५ बोरा, गुप्ता मल पसल गौर ९ लाई १०० बोरा अनुदानको विउ उपलब्ध गराएको छ ।

ज्ञान केन्द्रको तथ्यांकअनुसार गौरमा मात्र ७५० बोरा गहुँको विउ आएको छ । माँ गंगोत्री कृषक सहकारी सस्था बेलविच्छवा लाई १०० बोरा, रामेश्वर प्रसाद साह कटरवन ५ लाई ७५ बोरा, ब्रह्म भगवती कृषक सहकारी सस्था लिमिटेडलाई १०० बोरा, न्यू रबी विज भंडार सरमूजवा १ लाई १०० बोरा, न्यू जायसवाल विउ विजन भंडार कटहरिया ८ लाई १०० बोरा, कृषक रसायनिक मलखाद्य विज भंडार डुमरिया लाई १०० बोरा, सर्वोदय कृषि सहकारी सस्था लिमिटेड गरुडा ४ लाई १०० बोरा विउ दिइएको छ ।

जनज्योति बहुउदेश्यीय सहकारी सस्था लिमिटेड कटहरिया ३ लाई ७५ बोरा, दुर्गा भगवती कृषि सहकारी सस्था लिमिटेड गढो ७ लाई ७५ बोरा, साह विज भण्डार गरुडा ४ लाई ७५ बोरा तथा रानी कृषक सहकारी सस्था लिमिटेड वरियारपुरलाई ७५ बोरा विउ दिइएपनि रौतहटका किसान विउ सस्तो रुपमा पाउन सकेका छैन ।

राष्ट्रिय विउ विजन कम्पनीले मिति २०७५ पौष ३ गतेमा कृषि ज्ञान केन्द्र रौतहटलाई भुक्तानीका लागि पठाएको पत्रमा भनिएको छ कम्पनीको निर्धारित विक्री मूल्य ६५ हजार ५ सय प्रति मेट्रिक टनमध्ये प्रति मेट्रिक टन ३९ हजार ३०० का दरले २७ लाख ११ हजार ७०० यस कार्यालयमा विक्रेता मार्फत जम्मा भइसकेकोले बाँकी रहन गएको अनुदान वापतको रकम प्रति टन २६ हजार २०० का दरले हुने रकम १८ लाख ७ हजार ८ सय भुक्तानी गरी दिन सकलै विल राखी पठाइएको छ ।

मङ्सिर १२ गतेमा ज्ञान केन्द्रले गरेको टिपण्णी आदेशमा प्रदेश सरकारबाट प्राप्त भएको दोस्रो चौमासिक स्वीकृत बजेट ७८ लाख ५० हजारको खर्च बाड़ फाट गर्दा ४० प्रतिशत अनुदानमा वितरण हुने विउ परिणाम २८५ मेट्रिक टन, खर्च हुने ७४ लाख ६७ हजार, अनुगमन निरिक्षण नियमन बैठक खर्च ३ लाख ३० हजार , दैनिक भ्रमण भत्ता १ लाख ,सवारी इन्धन ८० हजार , सवारी इन्धन मरमत ५० हजार ,स्टेशनरी खर्च १० हजार ,विविध एवं बैठक खर्च ५० हजार , स्वयं सेवक परिचालक २ जनालाइ २० हजार गरी कुल खर्च हुने अनुमान ७७ लाख ९७ हजार रहेको छ ।

निष्कर्षमा उल्लेखित खर्च बाड़फाट अनुसार तथा नया संरचनामा स्वीकृत दरवन्दी अनुसार कर्मचारीहरु पदपुर्ति हुन नसकेको कारण २ जना स्वयसेवक परिचालक नियुक्ति गरी निरिक्षण अनुगमन कार्यक्रम र भएको सवारी साधन धेरै पुरानो भएकोले तत्काल मरमत गराई प्रयोग हुन मनासिव देखिएकोले निर्णयार्थ पेश गरिएको कृषि प्रसार अधिकृत झा द्धारा प्रस्तुत आदेशमा लेखिएको छ ।

किसानको लागी आएको रकम मध्ये १७ हजार ८५० रुपैया जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई भता वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ