बर्दिवास, २१ चैत । महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको संकट बढेको छ । नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो ।
चुरे पहाडी शृङ्खलाका खोल्सीबाट पाइप ओछ्याएर ल्याइएको धाराबाट पानी झर्न छाडेपछि बर्दिवास–५ गणन्ता बस्तीमा खानेपानीको संकट बढेको छ । जम्मा २२० घरपरिवारको बसोबास भएको सो बस्तीमा अहिले साइकलमा गाग्री झुण्ड्याएर टाढाबाट खानेपानी ल्याएर गर्जो टार्नुपरेको त्यहीँकै बासिन्दा वडा सदस्य रमेश कार्कीले बताए ।
त्यसैगरी खानेपानीको स्रोत इनार मात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने बिजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन्। बर्दिवासकै किसाननगर, बिजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगर सहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा चिन्ता बढेको छ ।
यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिँया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैतको दोस्रो साताभित्रै खानेपानीको संकट बढेको हो ।
तपाईको प्रतिक्रिया