काठमाडौं, ८ फागुन । जनकपुर–जयनयगर–कुर्था खण्डमा चलाउन भारतबाट ल्याउने भनिएको रेलको समय गुज्रिदै गएको छ ।
वैशाखमा भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिद सम्झौता गरी निर्माण गर्न लगाएको रेल सुरु सम्झौता अनुसार भदौमा नेपाल ल्याउने योजना थियो । रेल विभागले सुरुको सम्झौता अनुसार रेल आउन नसकेपछि त्यसलाई संशोधन गरी माघ मसान्तसम्म लम्ब्याएको थियो ।
विभागका कतिपय अधिकारी भने सञ्चालनका लागि अझै थुप्रै कठिनाइ बाँकी रहेका कारण रेल ल्याउन ढिलाइ भइरहेको बताउँछन् । रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न अझै चुनौती देखिएको बताइन्छ ।
भारतबाट आउने रेल चलाउने दक्ष जनशक्ति विभागसँग छैनन् । विभागले भारतबाटै दक्ष जनशक्ति ल्याउन खोजे पनि आउन नमानेको बताइन्छ । रेल चलाउनका लागि आवश्यक पर्ने कर्मचारीलाई दक्ष बनाउँदासम्म केही समय लाग्ने अधिकारीहरू बताउँछन् ।
रेल ल्याउने दोस्रो भाका गुज्रिएपछि अब भारतको चेन्नईमा निर्माण भइरहेका रेल नेपाल कहिले आइपुग्छन् भन्ने अनिश्चित छ । विभागले गएको बैशाख महिनामा करिब एक हजार दुई सयजनाले यात्रा गर्न मिल्ने डेमो रेल तयार गर्ने कोकन रेलवेजसँग सम्झौता गरेको थियो ।
चालु आर्थिक वर्षमा रेल चलाउन अर्थले सुरुमा ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यति रकमले दुईवटा डेमो रेल खरिद गर्न अपुग भएपछि मन्त्रिपरिषद्ले बजेट थप गरी ८५ करोड ६५ लाख रुपैयाँ पु¥याएको थियो ।
जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने रेल विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया