गणतन्त्र दिवसमा भारतद्वारा ३० एम्बुलेन्स उपहार

समाचार

1/26/2020

काठमाडौं, १२ माघ । भारतले ७१ औं गणतन्त्र दिवसका अवसरमा नेपाललाई ३० वटा एम्बुलेन्स उपहारस्वरुप दिएको छ । नेपालस्थित भारतीय दूतावासले गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।

दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरिएको छ ।

दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।

कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गरे ।

त्यसअवसरमा कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए । भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ ।

विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ ।

दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ