गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता : मेयर गुप्ता

समाचार

10/12/2018

राकेश यादव, रौतहट, २६ असोज । गौर नगरपालिका कार्यालयको आयोजनामा गौर नगर स्तरीय माध्यमिक शिक्षा परीक्षा २०७४ अन्तर्गत सर्वोत्कृृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

परीक्षामा राम्रो अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गर्दा हौसलामा बृद्धि हुने उद्देश्यले यस वर्षदेखि यस्ता कार्यक्रम शुरुआत गरिएको हो ।

सबैभन्दा बढी अंक प्राप्त गर्ने जुद्ध माध्यमिक विद्यालयका साजिद आलम, माध्यमिक विद्यालय टिकुलियाका कावेरी कुमारी गिरीलाई प्रथम श्रेणीको पुरस्कारबाट नगद ७ हजार सहित प्रमाण पत्र साथै दोसल्ला ओढाएर नगरप्रमुख अजय कुमार गुप्ताले सम्मानित गरेका हुन् ।

मित्र मेमोरियलका चन्दन यादव, जुद्ध माध्यमिक विद्यालयका रुचिका कंचन र समां प्रवीन मिकरानीलाई दोश्रो पुरस्कारबाट नगद ५ हजार सहित प्रमाण पत्रले सम्मानित गरिएको गौर नगरपालिकाले जनाएको छ ।

समां प्रवीण र रुचिकाको प्राप्तांक अंक समान भएकोले पुरस्कारको रकम ५ हजारबाट २ हजार ५ सयका दरले दुवै जनालाई प्रदान गरिएको शिक्षा समितिका प्रमुख गणेश गिरीले बताएका छन् ।

कार्यक्रमको सम्वोधन गर्दै मेयर गुप्ताले गौर नगरपालिका क्षेत्रमा रहेका विद्यालयको भौतिक पूर्वाधारको विकासको लागि प्रतिवद्ध रहेको बताउँदै उत्कृस्ट शिक्षाको अपेक्षा राखेको बताए ।

उनले भने, ‘मेरो चाहना नगरपालिकाका विद्यार्थीहरु प्रतिस्पर्धात्मक होस् ।’ शिक्षा विनाको जीवन अधुरो रहेकोले गुणात्मक शिक्षा नभए विद्यार्थीको भविष्य अंधकारमय हुने टिपण्णी गरे ।

मेयर गुप्ताले शिक्षाको सवालमा कसैसँग समझौता नगर्ने भन्दै गुणस्तर उत्पादन मुखी शिक्षा हेर्न आतुर रहेको बताए ।

नगर भित्र रहेका निजी विद्यालयलाइ पहिलो पटक अनुगमन गराइएकोले कमी रहेको साधन स्रोत, विषयगत शिक्षा चाडै व्यवस्थापन गर्न विद्यालय संचालकहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा उपप्रमुख किरण ठाकुर, प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की लगायत शिक्षक, अभिभावकहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ