गोरखापत्रले पूरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुने मुख्यमन्त्रीको दाबी

समाचार

3/27/2019

जनकपुरधाम, १३ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको गोरखापत्रलाई समय सापेक्ष बनाउन सुझाव दिएका छन् ।

गोरखापत्र संस्थानले बुधबारदेखि जनकपुरधाममा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थान पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुने तर्फ सचेत गराएका छन् ।

अनुभव र ऊर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्ति सम्बन्धि विज्ञापनको पयार्य बन्न लागेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले आम पाठकको लागि समयमै समाचार पु¥याउने प्रतिस्पर्धी माध्यम बननु पर्नेमा जोड दिए ।

निजी क्षेत्रका पत्रिकाहरुसँग प्रतिस्पर्धा गर्न गोरखापत्रको वितरण प्रणालीलाई चुस्त दुरुस्त र छरितो बनाउन सुझाव दिँदै मुख्यमन्त्री राउतले अबको प्राविधिक युगमा गोरखापत्रलाई समेत प्रविधिमैत्री बनाउनु पर्ने उल्लेख गरे ।

स्वतन्त्र, निस्पक्ष र भयरहित पत्रकारिताका लागि प्रदेश नं. २ को सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।

पत्रकारहरुको एउटा सानो गल्तीले कुनै व्यक्ति वा समाज बर्बाद हुन सक्ने र एउटा सानो प्रयासले मुलुकका शान्ति र सुशासन कायम हुन सक्ने भएकाले पत्रकारहरुलाई सचेत पत्रकारिता गर्नु पर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले गोरखापत्रसँग रहेको ऊर्जा र अनुभवलाई पत्रिकामा भरपुर उपयोग गर्न सुझाव दिए ।

मन्त्री यादवले प्रदेश २ को सरकार केन्द्रभन्दा एक कदम अगाडी बढेर प्रेश स्वतन्त्रता दिने पक्षमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले ल्याउन लागेको संचार सम्बन्धिमा विधेयकमा कुनै समस्या देखिए संचारकर्मीहरुसँग खुल्ला छलफल गर्न प्रदेश सरकार तयार रहेको बताए ।

गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रशिक्षक शरदचन्द्र बस्ती, प्रधान सम्पादक श्रीओम श्रेष्ठ लागयतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका छन् ।

दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश २ अन्तर्गतका आठ वटै जिल्लाका सम्वाददाताहरुको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ