बुटवल, ५ फागुन । नन्द–भाउजु ताल, सिंसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरणका बावजुत सम्भावना बोक्दा बोक्दै ओझेलमा परेको बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुह (चिमटिप) रुपन्देहीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० वर्षे गुरुयोजना निर्माण तयारी थालिएको छ ।
महालक्ष्मी ईन्जिनियरिङ कन्सल्टेन्सी समन्वयमा ईन्जिनियर जिवन कुमार वनसहित सुदिप ढकाल र निशा वनले तयार गरेको नक्सांकनमाथि आइतबार भएको छलफल तथा सुझाव संकलन (अन्र्तक्रिया) कार्यक्रमले गुरुयोजना मार्फत पर्यटकीय विकास गर्ने लक्ष्य बोकेको हो ।
ईन्जिनियर जिवन कुमार वनसहितको टोलीले तयार गरेको भिजुअल अनुसार वनको हालको संरचना तथा अवस्थालाई यथास्थितिमा प्राकृतिक स्वरुपमा राख्दै डुङ्गा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यीकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनिक स्पर्टमा आधुनिक ढाँचा, भ्यू टावर निर्माण, कलात्मक आकर्षण गेट निर्माण, साइकलिङ तथा पद मार्ग निर्माण, फुटवल खेल मैदान र कर्भड हलको निर्माण, सांस्कृतिक कार्यक्रमका लागि आवश्यक भौतिक संरचना, बास्केट बल र टेवल टेनिस पोर्ट निर्माण, योगा तथा सेमिनार हलको निर्माण, व्यवस्थित आधुनिक शैलीको गौशाला, पार्किङस्थल निर्माण, रिङरोड निर्माण, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमस्टे सञ्चालन लगायतका अवधारणाहरु रहेका छन् ।
भिजुअलको दृश्य अवलोकन पश्चात नक्सांकनमा केही अत्यावश्कीय छुटेका कुराहरुलाई समावेश गरेर गुरुयोजना निर्माण गर्नुपर्ने वन समितिका पदाधिकारी तथा सदस्यहरुले सुझाएका छन् ।
उनीहरुले शौचालय, विश्रामस्थल, मन्दिरको संरक्षण तथा प्रवद्र्धन, पार्किङको आवश्यकता र स्थिति, प्रवेश क्षेत्रको जानकारी, प्राकृतिक संरचनाको डुङ्गा सयरको अवस्थालाई विस्तृत रुपमा खुलाएर ताल तथा सिमसार क्षेत्रमा धार्मिक आस्थाका मठ–मन्दिर, गुम्वा, चर्च तथा मस्जिदको सम्भावना र आवश्यकतालाई पनि खुलाएर गुरुयोजनामा समावेश गर्नु पर्ने औल्याएका छन् ।
वनका अध्यक्ष भोला प्रसाद यादवको अध्यक्षतामा तथा सचिव बिमला केसीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रम सुझाव र सल्लाहका लागि धन्यवाद दिँदै अध्यक्ष यादवले बाउन्नकोटी सामुदायिक वनको गुरुयोजनालाई राष्ट्रकै नमूना वनको रुपमा विकास गरेर आयआर्जनका श्रोतहरुमा पनि बृद्धि गर्न सकिने धारणा प्रस्तुत गरे ।
एक सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा हाल तीन सय ८० जना सदस्यहरु रहेका छन् भने साविक चिल्हिया, मधवलिया, टिकुलीगढ, पडषरी गाविसका चार हजार भन्दा बढी स्थानियहरुले लाभ लिएका छन् । यस क्षेत्रकै एक मात्र पाँच तारे होटल टाईगर प्यालेस रिर्सोट वनको पर्यटकीय विकासका लागि बाह्य पर्यटनको आधार स्तम्भ पनि हो ।
तपाईको प्रतिक्रिया