रौतहट, १० असार । गौर नगरपालिकाको चौथो नगर सभको पहिलो बैठक सम्पन्न भएको छ । नगर प्रमुख अजय कुमार गुप्ताको अध्यक्षतामा भएको पहिलो बैठकमा ४५ करोड ५७ लाख १ हजारको आयव्ययको प्रस्ताव प्रस्तुत गर्दै पहिलो बैठक सम्पन्न भएको हो ।
नगर अध्यक्ष गुप्ताले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको चौतर्फी विकासको जिकिर गरिएको छ । नगर विकासमा नगरवासीको असीमित इच्छा र आकांक्षालाई अहोरात्र खटेर पूरा गर्ने प्रतिवद्धता जनाइएको छ । नगर कार्यपलिकाले आफ्नो कार्यक्षमता प्रस्तुत गर्न कुनै किसिमको कमी नगर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
रौतहट जिल्लाको अन्य स्थानीय तहको तुलनामा न्यून बजेट भए पनि विकास निर्माण र सामाजिक आर्थिक क्षमता विकासका कार्यहरुलाई क्रमिक रुपमा प्राथमिकीकरण गर्दै सडक विस्तारीकरण, खेल मैदानको व्यवस्था, मल्टी कम्प्लेक्स अपार्टमेन्ट निर्माण, बरहवा खोलालाई पर्यटकीय रुपमा विकास गर्न, मठमन्दिर धर्मशालाको जीर्णोद्वार र सौन्दर्यीकरण, बजार व्यवस्थापन र प्रवद्र्धन, कर प्रणाली सुधार, उद्यमशीलता विकास, स्थानीय भाषा विकास, चाडपर्व र स्थानीय महोत्सवको अवसरमा सार्वजानिक विदा निर्धारण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको क्षेत्रमा लगानी गर्ने नीति लिएको छ ।
नीति कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सूचना प्रविधिको प्रयोग, पार्किंग व्यवस्थापन, नक्सा नियमित गर्ने र मापदण्ड बमोजिम नक्सा पास गर्ने, प्रकृति प्रकोपबाट सुरक्षित रहन पूर्व उपाय गर्ने र क्षति न्यूनीकरण तथा राहत उद्धारको व्यवस्थापन गर्ने ,सरसफाई अझ प्रभावकारी बनाउने, विजुली बतिको प्रभावकारी व्यवस्थापन गर्ने, सुरक्षाको प्रत्याभूतिसहित गौर नगरपालिका क्षेत्रको व्यापर व्यवसाय राति १० बजेसम्म सञ्चालन हुने गरी व्यवस्था मिलाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक वर्षमा सार्वजानिक सेवा, सुशासन तथा क्षमता विकास सम्वन्धी विभिन्न नीति अबलम्बन गरिने छन् । सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा विकास गर्ने जोड़ दिइएको छ ।
बैठकमा मेयर गुप्ताले संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड़ १३ लाख, सशर्त अनुदान कृषि, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद, ऊर्जा, श्रम तथा रोजगारी शीर्षकमा १५ करोड़ ६३ लाख तथा संघीय सरकार सामाजिक सुरक्षा कार्यक्रममा ४ करोड़ ७५ लाख ५० हजार, राजश्व बाँडफाँट ७ करोड़ १ लाख, प्रदेश सरकारको समानीकरण अनुदान ७३ लाख ४८ हजार, राजश्व बाड़फाट ६२ लाख ११ हजार, नगरपालिकाको आतंरिक आय १ करोड़ ४५ लाख, राजश्व बाँडफाँट मालपोत १ करोड़ , संघीय सरकार सड़क बोर्ड नेपाल ५५ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम १८ लाख ९२ हजार तथा आन्तरिक श्रोत जनसहभागिताको १ करोड ५० लाख गरी १७ करोड़ ८१ लाख १ हजारसहित ४५ करोड ५७ लाख १ हजार अनुमानित आय विवरण प्रस्तुत गरिएको छ ।
आर्थिक वर्ष ०७६।०७७ मा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड ८२ लाख ८२ हजार, आर्थिक विकासतर्फ कृषिमा ५ लाख , उद्योगमा १५ लाख गरी २० लाख खर्च गरिने अनुमान गरिएको छ ।
पूर्वाधारतर्फ यातायात पूर्वाधारमा ६ करोड ६५ लाख ३४ हजार, भवन आवास तथा शहरी विकासमा ६४ लाख, ऊर्जामा ८४ लाख २१ हजार गरी ८ करोड १३ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको छ ।
सुशासन तथा अज्तर सम्कन्धित क्षेत्रमा विनियोजन गरिएको १ करोड ४ लाख ५० हजारमा शान्ति तथा सुव्यवस्थामा १५ लाख, गरिबी निवारणमा २ लाख ५० हजार, वातावरण तथा जलवायुमा ४७ लाख, विपद व्यवस्थापनतर्फ ४० लाख खर्च गरिने छन् । त्यस्तै सामाजिक विकासका लागि सबैभन्दा बढी २७ करोड ३६ लाख १४ हजार छुट्याइएको छ ।
सामाजिक सुरक्षा तथा सुरक्षणमा ४२ लाख ५० हजार, युवा तथा खेलकूदको लागि ३४ लाख ४५ हजार, खानेपानी तथा सरसफाईमा ५३ लाख, भाषा तथा संस्कृतिमा २ करोड १३ लाख ५० हजार, शिक्षातर्फ १४ करोड ६३ लाख २ हजार, स्वास्थ्यमा २ करोड ६० लाख ३ हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ९४ लाख, कृषिमा १६ लाख ४५ हजार, श्रम तथा रोजगारी तर्फमा ६४ लाख ७७ हजार ७ हजार, सामाजिक सुरक्षा कार्यक्रम तथा जेष्ठ नागरिकका लागि ४ करोड ७५ लाख ५० हजार तथा बहुक्षेत्रीय पोषण कार्यक्रममा १८ लाख ९२ हजार खर्चको अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष समावेशी नीति कार्यक्रम प्रस्तुत गरिको देखिएको छ ।
नगरपालिकाले सामाजिक विकास तर्फ बढी जोड दिएको छ । सामाजिक विकृतिको अन्त्य तथा जनचेतनाको विकास नभएसम्म नगरपालिका विकास पूर्ण रुपमा सम्भव नरहेको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताएका छन् ।
नगर सभाको पहिलो बैठकमा उपप्रमुख बाहेक सबै नगर सभाका सदस्य उपस्थित भएको गौर नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया