रौतहट, १५ मंसिर । रंगारंग कार्यक्रमकाबीच गौर नगरपालिका जिल्लाको १४औं खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको छ ।
नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिद्वारा आयोजित खुल्ला दिसामुक्त घोषणा समारोहमा संघीय सांसद अनिल कुमार झा, प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले संयुक्तरुपमा गौर नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरेका छन् ।
नगरप्रमुख अजय कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा सम्बोधन गर्दै सांसद अनिल कुमार झाले खुल्ला दिसामुक्त घोषणापछि पनि सरसफाई कार्यक्रमको पूर्णता दिनुपर्ने बताएका छन् ।
उनले सतप्रतिशत कुनै पनि कार्य संभव नभएकोले भएका कमी कमजोरीलाई सच्याउँदै अगाडी बढ्दै जानू पर्ने धारणा राखे ।
समारोहमा विशिष्ट अतिथिको आसन्नबाट सम्बोधन गर्दै प्रदेश २ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री यादवले गौर नगरपालिका रौतहटको सबैभन्दा पुरानो तथा सदरमुकाम भएको नगरपालिका रहेकोले यसको विकास ठूलो चुनौती रहेको बताएका छन् ।
गौर नगरपालिकाका ऐतिहासिक धरोहरको कसरी बचाउने भनी हामी सामु ठूलो चुनौती रहेको छ भन्दै राज्यमन्त्री यादवले सदरमुकाममा रहेका सरकारी कार्यालयलाई षड्यन्त्रपूर्ण तरीकाले हटाउने कार्यसमेत भैरहेको बताए ।
गौरमा रहेको गौर राइस मिलको जग्गाको संरक्षण, आखा अस्पताल पूरेनवाको स्तरोन्नती, गौर बस पार्कको विकास, क्रान्तिद्वार, रिंग रोडको साथै बाईपासको निर्माण गर्नु महत्वपूर्ण विषय रहेको जिकिर गरे । उनले भने मुलुकमा तीन तहका सरकार रहेकोले समन्वय, सहकार्य, सहअस्तित्वलाई अंगीकार गर्नुपर्ने छ ।
गौर सदरमुकामबाट सरकारी कार्यालय हटाउने कार्य भैरहेकोले त्यस्तो कार्य रोक्नका लागि संघीय सांसद, प्रदेश सांसद, स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिहरुले एकजुट भएर आवाज उठाउनु पर्ने जोड दिँदै राज्यमन्त्री यादवले विकासको सवालमा सहकार्य समन्वय गरी अघि बढ्नु पर्ने टिप्पणी गरे ।
गौर राईस मिलको जग्गा गौरको मुटु भएकोले यसलाई जोगाउन गर्नु पर्ने कार्य गर्न प्रदेश सरकार तयार समेत रहेको बताए । यादवले नगर प्रमुख अजय कुमार गुप्तालाइ कृषिको उत्पादन बढाउनका लागि ठोस योजना माग गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले खुल्ला दिसामुक्त घोषणापछि सरसफाईको निरन्तरता हुने कि नहुने भनी चुनौती भएको बताउँदै प्रारम्भिक चरणको कार्यक्रम भएकोले पछि पनि वातावरण सरसफाईको कार्यहरु हुने उल्लेख गरे ।
जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादवले सुरुवाती चरण रहेकोले विस्तारै विस्तारै रौतहट सुन्दर र स्वच्छ हुने विश्वास व्यक्त गरे ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले नगरपालिकाको सरसफाई सम्वन्धी संक्षिप्त विबरण प्रस्तुत गरेका समारोहमा खानेपानी सरसफाई डिभिजन कार्यालयका अनिल कुमार केसरीले रौतहट अहिले सर सफाईको क्षेत्रमा फड्को मारेको दावी गरे ।
५ हजार ९ सय १६ घरपरिवारमा शौचालय निर्माणको कार्य संपन्न भई पूर्ण प्रयोगमा आएपछि गौर खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । कार्यक्रममा मधेशको कला सस्कृति झल्किने झांकी ,नृत्य ,विद्यालयका वाल बालिकाहरुले प्रस्तुत गरेका थिए ।
यूनिसेफ, मिशन साक्षर युवक नेपाल, सामुदायिक शक्ति, ग्रामीण विकास केन्द्र नेपालले खुल्ला दिसामुक्तका लागि शौचालय निर्माणमा भूमिका निर्वाह गरेका थिए ।
समारोहको समापन गर्दै नगर प्रमुख अजय गुप्ताले गौर नगरपालिका खुल्ला दिसा मुक्त घोषणा भएकोले आफु गौरवान्वित भएको बताए ।
स्थानीयबासी, नगरप्रमुख भएको नाताले आफु खुसी भएको टिपण्णी गर्दै मेयर गुप्ताले स्वच्छता अभियानमा सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा सरसफाईको क्षेत्रमा भूमिका निर्वाह गरेकाहरुलाई प्रशंसा पत्रवाट सम्मानित गरिएको छ ।
तपाईको प्रतिक्रिया