काठमाडौं, १८ चैत । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बारा, पर्सालगायतका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासी आएको त्रासदीपूर्ण आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले सोमबार एक शोक वक्तव्य जारी गर्दै, ‘कम्तिमा २७ जनाको मृत्यु तथा ६ सय १२ भन्दाबढी घाइते भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ ।’ उल्लेख गरेका छन् ।
‘अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। साथै आँधीबेहरीका घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछु ।’ शोक वक्तव्यमा उल्लेख गरेका छन् ।
त्यसैगरी पीडितको छिटो उद्धार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गरेका छन् । उनले आगामी दिनमा यस्ता दुखद घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानकार्षण गराएका हुन् ।
तपाईको प्रतिक्रिया