नेपालगञ्जको घर–घरमा दूषित पानी

समाचार

2/12/2019

बाँके, २९ माघ । वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधार बनिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको छ । नेपालगञ्जवासीले शुद्ध खानेपानी पिउन भूमिगत स्रोतकै भर पर्नुपर्ने बाध्यता छ ।

आर्थिक अवस्था राम्रो हुनेले महङ्गा फिल्टर मेसिन, जार तथा बोतलको पानी पिउने गरेका छन् । न्यून आय भएका नागरिक भने ह्याण्डपम्प र कुवाको पानी पिउन बाध्य छन् । नेपालगञ्जको बढ्दो बस्ती विकास र जनघनत्वअनुसार खानेपानी संस्थानले सबै टोल र बस्तीमा शुद्ध पिउने पानी पु¥याउन सकिरहेको छैन ।

विसं २०६८ को जनगणनाअनुसार नेपालगञ्जको जनसङ्ख्या एक लाख ३८ हजार ९५१ रहेको छ । खानेपानी संस्थानको तथ्याङ्कअनुसार हालसम्म नेपालगञ्ज उपमहानगरपालिकाभित्र पाँच हजार उपभोक्ताले मात्रै खानेपानी संस्थानको धारा जडान गरेका छन् । दशकअघि जडान गरिएका धारा बिग्रिएर, चुहिएर र बिल भुक्तानी नगरेर धेरैजसो धारा बन्द छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो क्षेत्रमा जनघनत्वअनुसार खानेपानी संस्थानले आफ्नो सेवा विस्तार नगर्दा उपभोक्ता दूषित एवं महङ्गो मूल्य तिरेर पानी पिउन बाध्य छन् ।
संस्थानले सेवा विस्तारका लागि कारकाँदोस्थित भगवती टोलमा गत वर्ष चार लाख २५ हजार लिटर क्षमता रहेको ट्याङ्की निर्माण गरेको छ । ट्याङ्कीबाट अहिलेसम्म पानी वितरण गर्न नसकेको वडा नं १८ का वडासदस्य दीपक ढुङ्गाना बताउँछनत् ।

संस्थानले सेवा विस्तार नगर्दा कारकाँदोका बासिन्दा केहीले हैण्डपम्पको दूषित पानी र कतिपयले ह्याण्डपम्पकै पानी शुद्धीकरण गरेर पिउने गरेका छन् । कारकाँदो क्षेत्रमा अत्यधिक रुपमा जनघनत्व बढेका कारण खानेपानी संस्थानले सेवा विस्तारमा तदारुकता देखाउनुपर्ने उनको सुझाव छ ।

नेपालगञ्जको तेजनगर, बसपार्क, सुर्जीगाउँ, जिल्ला प्रहरी कार्यालयको दक्षिणक्षेत्र, कोरियनपुर, भृकुटीनगर, बाँकेगाउँ, गोसाइँगाउँ, आर्दशनगर, बेलासपुर, फुलटेक्रा, रामनगर, लग्दहवा, भुजइगाउँलगायत स्थानमा जनघनत्व ह्वात्तै बढेको छ । ती बस्तीमा खानेपानी संस्थानले अहिलेसम्म धारा जडान गर्न सकेको छैन । नेपालगञ्जका नयाँ बस्तीमा संस्थानको ‘शुद्ध पानी’ नपुग्दा उपभोक्ता दूषित पानी पिउन बाध्य छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ