घुस लिएको आरोपमा पक्राउ परेका वडा अध्यक्ष भन्छन्, ‘काठ खरिदको रकम घुस कसरी भयो’

समाचार

4/29/2019

राजविराज, १६ बैशाख । सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार बिहान सप्तरीमा एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ मा तत्कालीन नेकपा एमालेबाट निर्वाचित सिल्टु मियाँ रहेका छन् ।

मोही छुटाउने विषयमा सिफारिसका लागि त्यहिका स्थानीय एक मण्डल थरको व्यक्तिसँग २५ हजार घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र प्रसाद ढकालले सञ्चारकर्मीलाई बताए ।

वडा कार्यालय छेउमै वडाअध्यक्ष मियाँले सुरुङ्गा ५ कुसहामा संचालन गरेको राईन सहमिलबाट विहान ७ः३० बजे उनलाई पक्राउ गरी इटहरी ल्याइएको र थप अनुसन्धान भइरहेको सूचना अधिकारी ढकालले बताए । सेवाग्राहीको नाम खुलाउन भने ढकालले मानेनन् ।

यत्ता वडा अध्यक्ष मियाँले भने आफ्नो सहमिलमा काठ किन्ने दरभाउ गरेवापतको २५ हजार रकमलाई घुस दिएको झुठो प्रचार गरी आफुलाई फसाएको दुखेसो पोखेका छन् ।

वडा कार्यालयमा निवेदन समेत नदिई किर्ते सिफारिसका लागि दबाब दिँदै आएका चलितर मण्डललाई उनले भने बमोजिम आफुले सिफारिस नगरिदिएकाले आफुलाई फसाएको उनले आरोप लगाएका छन् ।

कानुन व्यवसायीसँग मात्र बुझेर सिफासिरस गर्छु भनी अफुले भन्दै आएकोमा गएराति आफ्नो सहमिलमा उनीहरु आई काठ खरिदका लागि दरभाउ गरी गएको र बिहान सहमिलमै आई पैसा दिदै गर्दा अख्तियारको टोलीले आफुलाई पक्राउ गरेपछि आश्चर्यमा परेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ