काठमाडौं, १२ पुस । नेपालमा रहेर विभिन्न अपराधमा संलग्न भएको आशकांमा पक्राउ गरेका चिनियाँ नागरिकलाई नेपालकै कानूनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ ।
पक्राउ परेका चिनियाँहरुलाई उनीहरुकै मुलुक फर्काउने तयारी सरकारले गरिरहँदा कानुनका ज्ञाताहरुले सरकारको यो तयारीप्रति प्रश्न उठाएका छन् ।
राजधानीका विभिन्न स्थानबाट सोमबार पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक अध्यागमन नियम उल्लंघनबाहेक अर्को कसुरमा संलग्न रहेको भेटिएको छैन । लामो अनुसन्धान गरेर पक्राउ गरिएको दाबी प्रहरीले गरिरहेको छ । मनमैजु, बासबारी र बुढानिलकण्ठबाट पनि धेरै चिनियाँ नागरिकहरु छापा मार्नुअघि नै उम्किएका थिए ।
पक्राउ परेको चिनिया नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रारम्भिक अनुसन्धानअनुसार आपराधिक कार्यमा संलग्नता नखुलेको भन्दै स्वदेश फर्काउने तयारी सरकारले गरिरहेको छ ।
नेपालमा पक्राउ परेका चिनियाँ दोषी ठहर भए नेपालकै कानुनअनुसार कारवाहीको भागिदार हुने र निर्दोष ठहरिए ससम्मान रिहा हुनुपर्ने कानुनका जानकारहरुको प्रतिक्रिया छ ।
पक्राउ गरिसकेका कुनै पनि देशका नागरिकलाई कानुनी कारवाही अघि नबढाई सम्बन्धित देश पठाउँदा दण्डहीनताले प्रश्रय पाउने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको धारणा छ ।
तपाईको प्रतिक्रिया