काठमाडौं, २ माघ । नेपालको अनौपचारिक भ्रमणमा रहेका सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई काठमाडौंमा सम्मानित गरिएको छ ।
एले सम्वत् ५०३० का अवसरमा किराँत राई यायोक्खाले चाम्लिङलाई दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगदसहित ‘यलम्बर सम्मान’ बाट सम्मानित गरेको हो । सम्मानित भएपछि चाम्लिङले आफू तीर्थाटनका लागि पितृ भूमिमा आएको र कुनै राजनीतिक कार्यक्रम नरहेको बताए । उनले राष्ट्रियता र राजनीतिक रुपमा आफू भारतीय भएपनि भाषा, संस्कृति र पहिचान नेपाली भएको बताए ।
यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गर्ने डा. नोवलकिशोर राईलाई यो सम्मान प्रदान गरिएको थियो ।
चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले सिक्किममा विगत २५ वर्ष शासन चलाएको थियो । चाम्लिङ लगातार २५ वर्षसम्म सिक्किममा मुख्यमन्त्री थिए ।
तपाईको प्रतिक्रिया