छिट्टै नेपालगञ्ज–दिल्ली उडान

समाचार

11/2/2018

नेपालगन्ज, १६ कार्तिक । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपालगञ्ज–नयाँदिल्ली उडान छिट्टै सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिएका छन् ।

उनले विमानस्थलाई अन्तर्राष्ट्रियरुपमा छिमेकी देशका नजिकका गन्तब्यमा उडान गर्ने विमानस्थलका रुपमा विकास गर्ने आफूको प्रतिबद्धता रहेको स्पष्ट पारे ।

उनले भने, “अहिले अन्तर्राष्ट्रिय उडान नेपालगञ्जबाट गर्नका लागि बुद्ध एयरलाई अनुमति दिएका छौँ, अरु एयरलाइन्सले पनि त्यो अनुमति प्राप्त गर्न सक्छन् तर, नयाँदिल्लीमा ‘स्लट’ प्राप्न गर्न नसक्दा सञ्चालन हुन सकेको छैन । दुईपक्षीय सरकारी अधिकारीबीच कुरा भइरहेकाले छिट्टै नै सबै अवरोध छिचोलेर हामी सञ्चालनको अवस्थामा पु¥याउछौँ सोही विश्वासका साथ हामीले यहाँ निर्माणको काम अघि बढाएका हौँ ।”

मन्त्री अधिकारीका अनुसार अबको तीन महीनाभित्र हालको टर्मिनल भवनको अगाडितर्फ नयाँ टर्मिनल भवनको डिजाइन भइसकेको छ । जहाँ अध्यागमनदेखि अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछ ।

नेपालगञ्जलाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको ठूलो केन्द्रका रुपमा विकास गर्ने गरी सरकारले पूर्वाधार विस्तारलाई तीव्रता दिएको उनले उल्लेख गरे । क्यानका अनुसार रु २८ करोड ५३ लाख ४० हजारको लागतमा कान्छाराम कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ ।

विमानस्थलमा हाल दुईवटा मात्र पार्किङ–मार्ग छन् । विस्तार गर्न लागिएको पार्किङ मार्ग ३१५ मिटर लम्बाइ र ६४ मिटर चौडाइको हो । यो निर्माण भएपछि थप छ वटा एटिआर–७२ विमान राख्न सकिन्छ । यो बनिसकेपछि आठ वटा ठूला र चार वटा साना गरी १२ वटा विमान पार्किङ गर्न सकिने क्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ