काठमाडौं, २४ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशहरुको सुरक्षा गर्ने जिम्मेवारी पनि भारतको भएको बताएका छन् ।
लखनउमा ‘डिफेन्स एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भारतले सधैँजसो विश्व शान्तिको सन्देश दिएको र कसैमाथि पनि हमला नगरेको बताए ।
उनले दोस्रो विश्वयुद्धमा भारतका हजारौँ युवा सहिद भए पनि त्यो लडाईं देशका लागि नभएको बताए ।
‘हामी त्यस्तो क्षेत्रमा छौँ जहाँ हामीमाथि आफ्नो साथसाथै छिमेकीहरूको पनि सुरक्षाको उत्तरदायित्व छ’, उनले भने, ‘भारतले सधैं विश्व शान्तिको सन्देश दिएको छ। हामीले कसैलाई आक्रमण गरेका छैनौं। हाम्रा हजारौं सैनिकहरू दुई विश्वयुद्धमा सहिद भए । तर, त्यो लडाईं हाम्रा लागि थिएन ।’
उनले भारतले आफ्नो आवश्यकताका आधुनिक हतियार आफै बनाइरहेको र विश्वका अन्य देशहरूले पनि भारतका उत्पादन लिन लागेका जानकारी दिए ।
‘पछिल्ला दुई वर्षमा, भारतले १७ हजार करोड रुपैयाँ बराबरको प्रतिरक्षा सामग्री निर्यात गरेको छ, हामी यसलाई ५ वर्षमा ३५ हजार करोड रुपैयाँसम्म विस्तार गर्न चाहन्छौं। हाम्रो नीति केवल आयातमा केन्द्रित थियो, अब यो परिवर्तन गर्नुपर्नेछ ।’
तपाईको प्रतिक्रिया