छोराले केटी भगाएपछि बाबुसँग ४० लाखको कागज

समाचार

2/19/2019

सिरहा, ७ फागुन । केटाले केटी भगाएपछि उनका बाबुआमा र आफन्तले कत्ति दुख कष्ट भोग्नुपर्छ, त्यसको एउटा घटना सिरहा जिल्लामा बाहिर आएको छ ।

गोलबजारस्थित एक कलेजमा स्नातक अध्ययनरत केटा र केटी भागेर विवाह गरेपछि केटाको बुवालाई अस्पतालको शैय्यामा पुर्याइयो भने उनीसँग ४० लाख रुपैयाँको ऋण कागज नै गराइएको छ ।

केटा दलित र केटी गैरदलित भएकै कारण यो मामिला अहिले लहान प्रहरीसम्म पुगेको छ ।

छोराले गैरदलितकी छोरी भगाएर बिहे गरेको कारण केटी पक्षका व्यक्तिहरुले राजकुमार पासवानसँग २४ घण्टाभित्र दुबैलाई उपस्थित नगराएर पंचायतीमा ४० लाख तिनुपर्ने कागज गराएका थिए ।

तर, केटाकेटीको पत्तो लाग्न सकेको छैन । कागज गराएको पनि झण्डै महिना दिन बित्न लागेको छ । त्यो ऋण कागज कोसँग त्यसको पत्तो समेत छैन ।

केटी पक्षका नातेदारहरुले कुटपिट गरेका कारण पासवानले आफ्नो उपचारमा १० हजार रुपैयाँ खर्चिसकेका छन् ।

उनले भने, ‘छोराले गरेको कामको सजाय मैले भोगिरहेको छु । उपचार गराउन ऋण लिनुपर्यो ।’

राजकुमारको चार छोराछोरीमध्ये छोरीको बिवाह भैसकेको भने जेठा छोरा गैरदलित केटीसँग घर छोडेर भागिसकेका छन् ।

कक्षा १२ र ११ मा अध्ययनरत दुई छोरा पनि यस्तै गल्ती गर्ने डरले उनी दुबैको पढाईलाई निरन्तरता नदिने पक्षमा देखिन्छन् । छोराछोरी पाल्न तथा पढाउन राजकुमार खेती किसानी, काठको काम तथा घर बनाउने कामका लागि मजदूरी गर्छन् ।

प्रहरीमा केटाको बाबु पासवानले कुटपिटको ठाडो उजुरी तथा छुवाछुत भएको भनेर मुद्दा समेत दर्ता गराइसकेका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, सिरहाका अध्यक्ष मोहन पासवानले यो मुद्दा प्रहरीसम्म पुगिसकेकोले यस घटनालाई सहज बनाउने विषयमा छलफल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ