जघन्य अपराधको प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने : खनाल

समाचार

12/31/2018

कञ्चनपुर, १५ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा आइतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

अवैध हातहतियार, महिला हिंसा, लैंगिक हिंसा, भ्रष्टाचार, गुण्डागर्दी, चोरी, डकैती लगायतका अपराधमा प्रहरी कडा रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध गर्ने सानो ठूलो नहुने भएकोले अपराधी जो सुकै होस कानुन बमोजिम कारवाही गर्नुपर्ने बताए ।

कार्यालयमा आउने सेवाग्राहीलाई पीडितमैत्री व्यवहार प्रदर्शन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यालय व्यवस्थापन, जिन्सी सामान लगायत कार्यालय साधनस्रोत दुरुस्त हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिक अवस्था परेको बेला तत्काल फिल्डमा खटिन सक्ने गरी प्रहरी कर्मचारीहरू हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए ।

संगठनको नीति विपरित काम गरेमा जो सुकै पनि कारवाहीको भागिदार हुने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ