रौतहट, २७ बैशाख । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ करुनियाको दलित समुदायका व्यक्तिहरुले नगर प्रमुखले समस्याप्रति चासो नलिएको बताएका छन् ।
बस्ती निर्माणको क्रममा स्थलगत निरीक्षण गर्न पुगेका स्थानीय विधायक रामकिशोर यादव समक्ष ती समुदायका बासिन्दाहरुले आफ्नो समस्या पोखेका हुन् ।
स्थानीयहरुले गास बास, कपासको ठूलो समस्या भएको बताएका छन् । मुसहर समुदायको दुःख सुनेपछि विधायक यादवले आफ्नो कोषबाट तत्काल खानेपानीको व्यवस्था र बाटो मर्मत गराउने घोषणा गरेका छन् ।
प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माणका लागि चाहिने जग्गाको व्यवस्थाका लागि नगरप्रमुखलाई सामूहिक रुपमा आग्रह गर्नु पर्ने सुझाव समेत दिएका छन् ।
विद्यालय, बाटोघाटो, विद्युत, शिक्षाको अवस्था दयनीय भएको सो बस्तीमा निर्वाचन पछि मेयर धर्मेन्द्र पटेल एकचोटी पनि फर्केर नआएको स्थानीय शिवशरण माझीले बताएका छन् ।
स्थानीय तहको निर्वाचनको बेला ठुल–ठूला सपना बाचा गरेका मेयर पटेल निर्वाचित भएपछि समस्याको बारेमा भन्दा पनि चासो नलिएको गुनासो उनीहरुको रहेको छ ।
सामाजिक सुरक्षाको भत्ता अहिलेसम्म नपाएको महिलाहरुले बताएका छन् । दलित बालबालिकाले पाउने भत्तासमेत नगरपालिकाले नदिएको आरोप दलितहरुको रहेको छ ।
तपाईको प्रतिक्रिया