जनकपुरधाममा शहीद कप टी–२० क्रिकेट प्रतियोगिता सुरु

क्षमतावान खेलाडीलाई स्थायी जिविकोपार्जनको व्यवस्था गर्छौ : मुख्यमन्त्री राउत

समाचार

3/25/2019

जनकपुरधाम, ११ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जिविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।

जनकपुरमा सोमबारदेखि शुरु भएको तेस्रो शहीद कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

विश्वको अन्य मुलुकमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचना भित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति लिएको उल्लेख गरे ।

उनले प्रदेश सरकार हालसम्म प्रदेश भित्र हुने सबै प्रकारको खेलमा यथाशक्य सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने बताए ।

मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र कम्ती ३/४ वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी गराए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं. २ खेलाडीहरुको उर्वरभूमि रहेको उल्लेख गर्दै त्यस्ता खेलाडीहरुलाई उजागर गर्न प्रदेश सरकार हरसम्भव प्रयास गर्ने बताए । उनले आधुनिक खेलका साथै मधेशका पारम्परिक खेलहरुको जगेर्ना गर्ने समेत प्रदेश सरकार प्रयत्नशिल रहेको बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल श्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडा स्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे ।

रुपेश कुमार सिंहको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रदेश सभा सदस्य सुरिता साह, कौशल कुमार यादव, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेलप्रेमी सहितको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा शहीद संजय चौधरी, नितु यादव, दिलिप यादव, रोहन चौधरी सहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

१९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभंगा र कानपुर गरि जम्मा ८ वटा टिम सहभागी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ