जनकपुरधाम, ५ बैशाख । प्रदेश २ सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रदेशको प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले विगतमा अञ्चल अस्पतालको रूपमा रहेको जनकपुर अञ्चल अस्पतालको स्वरूपलाई प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको हो ।
सामाजिक विकास मन्त्री नबलकिशोर साहले प्रादेशिक अस्पतालका लागि आवश्यक सम्पूर्ण पूर्वाधार पनि तयारी गर्दै जाने बताए ।
जनकपुर अहिले प्रदेशको अस्थायी राजधानी समेत रहेकाले उक्त अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल नामकरण गरिएको उनले बताए ।
विगतमा संघीय सरकार मातहत रहेको जनकपुर अञ्चल अस्पताल अहिले प्रदेश सरकारको मातहत आइसकेको छ ।
उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त अस्पतालको बजेटदेखि कर्मचारी नियुक्तिसम्म सबै काम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत संचालन भइरहेको छ ।
तपाईको प्रतिक्रिया