टोकियो, ४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ ।
राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार टोकियो पुगेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गरिन् ।
जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताए ।
उनीहरुबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौँ–ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझैँ जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको छ ।
तपाईको प्रतिक्रिया