मोरङ, २० माघ । विराटनगर महानगरपालिका–८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका–८ बलुवाही बस्ने १९ वर्षीय चन्दु महतो र सोही ठाउँ बस्ने २५ वर्षीय भुट्टु भन्ने अब्वास अन्सारी रहेका छन् । उनीहरु दुबैजना मजदुर हुन् ।
घटनापश्चाात् जिल्ला प्रहरी कार्यालय मोरङबाट तत्काल अनुसन्धानमा खटिएको प्रहरीले अभियुक्तको खोजी तथा अपराधको गहन अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
माघ १२ गते राति करिब ८ बजे बालिका दास हराएको भन्दै उनका बाबुले प्रहरीमा निवेदन दिएपछि तत्काल खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर नजिकै बालिकाको चप्पल र टोपी तथा स्थानीय सिंघिया खोलामा माघ १३ गते निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुका साथै संकलित सबुदहरु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं तथा औषधी व्यवस्था विभागमा समेत पठाएको थियो ।
अनुसन्धानको क्रममा घटनास्थलमा विभिन्न व्यक्तिहरुसँग सोधपुछ, सबुदको खोजी एवं विश्लेपषण, ‘डग स्निफिङ’ को साथै शंकास्पद व्यक्तिको पहिचानका लागि निगरानी, खबर संकलन तथा मिहिन ढंगले अध्ययन अनुसन्धान तथा विश्लेषण पछि अपराधमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
घटना हुने दिन साँझ अब्वास र चन्दुबीच पीडितको घर नजिकै भेट भएको, जबरजस्ती करणी गर्ने सल्लाह भएपछि बालिकालाई नजिकैको चौरमा लगी मुख थुनेर जबरजस्ती करणी गरेको तथा घाँटी थिचेर मारी शव खोलामा फालेको, बालिकाको लुगा खोला किनारमा लुकाएको, भोलिपल्ट अब्वासले शव अड्किएको ठाउँबाट पुनः धकेलिदिएको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ अभियुक्तहरुलाई जबरजस्ती करणी गरी कर्तव्य ज्यान अपराध गरेको कसुरमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ ।
तपाईको प्रतिक्रिया