महोत्तरी, ६ फागुन । बाढी तथा अन्य विभिन्न विपद व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले प्रदेश २ कै पहिलो ईमरजेन्सी सेल्टर महोत्तरीमा निर्माण हुँदैछ ।
भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहने छ । उक्त भवनमा कम्तिमा पनि पाँचसय पीडितलाई एक समयमा राख्न सक्ने क्षमता हुनेछ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १ स्थित मनरा सिस्वा नगरपालिकाको भवन बन्ने स्थलमै भवन बाहेकको बाँकी जग्गामा निर्माण भइरहेको उक्त सेल्टर सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले निर्माण गर्न ठेक्का लगाइसकेर निर्माण कार्य समेत सुरु भइसकेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई प्रमुख गंगाप्रसाद यादवले आउदो एक वर्ष ६ महिना भित्र उक्त सेल्टर बनिसक्ने बताएका छन् । उनले तत्काल हेलिप्याडको व्यवस्था नरहने भएपनि भविष्यमा हेलिप्याड समेत थप गर्न मिल्ने गरि सेल्टरको डिजाइन गरिएको बताए ।
यता आपतकालिन सेल्टर निर्माण भइरहँदा उक्त क्षेत्रका सांसद समेत रहेका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा उत्साहित देखिएका छन् । उनले सदैव तराई मधेश क्षेत्र संघको उपेक्षामा रहने गरेपनि यो एउटा काम संघले राम्रो गरेको प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया