जलेश्वर, ११ चैत । महोत्तरी जिल्लाको जलेश्वरनाथ नगरपालिका वडा नं. ४ सुगामा सोमबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
चित्राँश सेवा समिति सुगाको आयोजना र शशिवंशी दत्त मोती देवी ट्रष्टको सहकार्यमा चित्राँश सेवा समितिको भवनमा एकदिने विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर गरिएको चित्राँश सेवा समितिका अध्यक्ष विष्णुचन्द्र लालले जानकारी दिएका छन् ।
काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताललगायत अन्य अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुद्वारा गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न वडाका विरामीहरुले स्वास्थ्य सेवा लिएको जनाइएको छ । सात जना विशेषज्ञ डाक्टरहरुको सेवा लिन विहानैदेखि शिविरमा घुँइचो लागेको थियो ।
सो स्वास्थ्य शिविरमा हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिपक दत्त, नाक, कान, घाँटी रोग विशेषज्ञद्वय डा. हिमपाली दास र रवि महथा, युरो सर्जन डा.अमरेश कर्ण, बालरोग विशेषज्ञ डा.अमलेन्द्र यादव, दाँत रोग विशेषज्ञ डा.प्रियंवदा कर्ण, आँखा रोग विशेषज्ञ डा.विकासकुमार साहले विरामीहरुलाई उपचार गरेका छन् ।
सो स्वास्थ्य शिविरमा तीन सयभन्दा बढी विरामीहरुले स्वास्थ्य जाँचका साथसाथै निःशुल्क औषधी प्राप्त गरेको आयोजक समितिका सचिव अर्पणकुमार कर्णले बताए । उनले शिविरमा ल्याव टेक्निसियन दिपेश कर्णले समेत ल्याव सेवा उपलब्ध गराएको जानकारी दिए ।
स्वास्थ्य शिविर पूर्व चित्राँश सेवा समितिको नवनिर्मित भवनलाई सर्वोच्च अदालतका पूर्वन्यायधिश कमलनारायण दासले उद्घाटन गरेका थिए ।
कर्ण कायस्थहरुको आराध्यदेव भगवान चित्रगुप्तको पुजाआजाका लागि बनाइएको सो भवनमा एउटा रुमसहित ठूलो हल बनाइएको छ । सो भवनमा सार्वजनिक पुजापाठका साथसाथै सार्वजनिक पर्व, त्योहार र शुभकार्य गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया