जलीसको गिरफ्तारीपछि नेपालतर्फ भारतीय सुरक्षाकर्मीको निगरानी

समाचार

1/24/2020

काठमाडौँ, १० माघ । आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा भारतको कानपुरमा गिरफ्तार गरिएका डा. जलीस अन्सारीको बयानका आधारमा भारतीय प्रहरीले नेपालतर्फ निगरानी बढाउन थालेको छ ।

गिरफ्तार गरिएका जलीसको सम्बन्ध नेपालमा रहेको र उनी नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आईएसआई’लाई मजबुत बनाउने भूमिकामा सक्रिय रहेको भारतीय प्रहरीको निष्कर्ष छ ।

शृंखलाबद्ध विस्फोटमा दोषी ठहर भई अजमेर जेलमा आजीवन कारावासको सजाय भोग्दै आएका उनी जेलबाट दैनिक हाजिरीको शर्तमा केही दिनका लागि रिहा भएका थिए ।

कैदीले पाउने ‘पेरोल’ सुविधा प्रयोग गर्दै रिहा भएका उनी रिहाइको शर्त उल्लंघन गर्दै फरार भएपछि भारतीय प्रहरीले खोजी सुरु गरेको थियो ।

उत्तर प्रदेश प्रहरीले उनलाई कानपुरबाट नियन्त्रणमा लिएको बताइन्छ । भारतीय संचारमाध्यमअनुसार जलीसले उत्तर प्रदेशमै ठूलो आतंकवादी घटनाको लक्ष्य बनाएको भारतीय प्रहरीको अनुमान छ ।

उनी नेपाल जाने र नेपालमै स्थायी बसोबास गर्ने योजनामा रहेको तथ्यहरु खुलासा भएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।

जलीस जेलमै रहँदा आईएसआईसँग सम्पर्कमा रहेको र भारतमा उनको ठूलो नेटवर्क अझै पनि रहेको भन्दै अधिकारीहरु उनी भाग्न खोज्नुको उद्देश्य र उनले बनाएको योजना खोतल्ने क्रममा नेपालतिर पनि चनाखो हुन थालेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ