वर्षाका कारण ७५% तरकारीबालीमा क्षति

समाचार

1/31/2020

बाँके, १७ माघ । यो वर्ष पटक–पटकको परेको वर्षका कारण बाँकेका तरकारीबालीमा क्षति पुगेको छ । हिउँदे वर्षाले बाँकेमा लगाइएका आलुलगायतका तरकारीबालीमा क्षति पुगेको हो ।

जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानीजस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र, बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए । उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । 

जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तीमध्ये आलु दुई हजार ८००, गोलभेँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ ।

हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेँडा खेतीमा क्षति भएको छ । उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ