त्रिपाठीका तीन विकल्प

१. समूहलाई अभियानकै रूपमै लाने २. राजनीतिक दल खोल्ने ३. नेकपामा प्रवेश गर्ने

समाचार

12/21/2018

मधेशवाणी डेस्क
काठमाडौं । नेपाली राजनीतिको मूलधारमा करिब तीन दशकदेखि मधेश मुद्दा बोकेर मधेशकेन्द्रित राजनीति गर्दै आएका पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले आह्वान गरेको भेलालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ । गत शुक्रबार काठमाडौंस्थित त्रिवेणी कम्प्लेक्समा त्रिपाठीले स्वतन्त्र राजनीतिक समूहका केही प्रतिनिधिपात्रहरूलाई बोलाएर आगामी कार्यदिशाबारे छलफल गरेका छन् ।

त्रिपाठीको भेलालाई यस कारणले पनि महत्वका साथ हेरिएको छ । नेपाली राजनीतिमा राम्रो दख्खल बनाएको र देशको राजनीतिक अवस्थाबारे सुक्ष्म तरिकाले विश्लेषण गर्ने व्यक्तित्व त्रिपाठी नेतृत्वको समूहले अब के गर्छ ? लामो समयसम्म नेकपामा प्रवेश गर्ने वार्ता अहिलेसम्म पनि मूर्तरूप लिन नसकेकोले नयाँ राजनीतिक दल खोल्ने वा कुनै अन्य पार्टीमा प्रवेश गर्ने लगायतका सर्वाधिक चासोको विषय बनेको छ ।
मूलतः निर्वाचनपश्चात् अहिलेसम्मको राजनीतिक यात्रा, भावी योजनाहरू, अब कसरी अगाडि बढ्ने लगायतका विषयमा केन्द्रित रहेर छलफल भएको त्रिपाठी समूहका एक नेताले मधेशवाणीलाई बताए । ‘भेलामा मुख्यरूपमा तीनवटा विषयमा गहन छलफल भयो’ समूहका नेता ईश्वर दयाल मिश्रले मधेशवाणीसँग कुराकानी गर्दै भने, ‘हामीले यो समूहलाई एउटा अभियानको रूपमा वा नेकपासँग एकीकरण गर्ने वा केही नभए पार्टीको रूपमा रूपान्तरण गर्ने भन्ने विषयमा गहन छलफल भएको हो ।’

‘नेकपा पहिलो प्राथमिकतामा’
संघीय संसदको निर्वाचनमा तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लडेर विजयी भएका हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र राजनीतिक समूहले नेपाल कम्युनिष्ट पार्टीमा मिल्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन नेतृत्वसँग पुनः संवाद थाल्ने भएको छ । तत्कालीन वामगठबन्धनसँग चुनावी सहकार्य गरेर चुनावमा जाँदा जनताले अनुमोदन गरेको भन्दै नेकपालाई नै पहिलो प्राथमिकता दिनुपर्ने भेलामा नेताहरूको जोड थियो । मधेशको मुद्दा, संविधान संशोधन, किसानका समस्या, उत्पीडितहरूको समस्या लगायतका विषयमा नेकपाका नेताहरू सहमतिमा आए पार्टीमा समायोजन हुनसक्ने धारणा राखेका थिए । नेकपाको वर्तमान नीतिमा परिवर्तन नआएसम्म पार्टी प्रवेश वा समायोजन हुन नसक्ने केही नेताहरूको अडान थियो ।

चुनावको समयमा तत्कालीन नेकपा एमालेमा मिल्ने चर्चाकाबीच सूर्य चिन्हमा नै चुनाव लडेका समूहका नेताहरूको राजनीतिक व्यवस्थापनमा ढिलाई भएपछि उसले त्यसका लागि नेकपाको नेतृत्वसग संवाद थाल्ने भएको हो । भेलाले व्यक्तिगत रूपबाट नभई समूहगत रूपबाटै नेकपासँग मिल्ने बारेमा भइरहेको छलफललाई सार्थक परिणाममा लैजाने गरी अघि बढ्ने निर्णय गरेको स्रोतले जनाएको छ । विगतमा राखिएका मागहरूलाई केन्द्रमा राख्दै नेकपासँगको भइरहेको छलफललाई छिटो परिणाममुखी बनाउन वैठकमा सहभागीहरूले जोड दिएका हुन ।

‘नेकपासँग पटक–पटक सम्वाद भएको हो र हुँदै पनि छ । त्यो विकल्प सम्पूर्ण रूपमा बन्द नै भइसकेको भनेर भन्न मिल्दैन,’ त्रिपाठीले भने । निर्वाचनपश्चात् देशमा परिवर्तित राजनीतिक सन्दर्भलाई विश्लेषण नगरी आगामी दिनका योजना र राजनीतिक कार्यक्रम बनाउन नसकिने उनको जिकिर थियो । निर्वाचनको नतिजासँग एउटा भावना र मनोविज्ञान जोडिएको थियो । तर, अहिले आएर समग्र देशमै मनोविज्ञानमा परिवर्तन भएको छ । ‘समग्र विषयमा हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं,’ त्रिपाठीले भने ।
‘नेकपालाई मधेश विस्तार गरिने’
नेकपाको नीति राम्रो भएपनि तराई मधेश बुझाउन नसकिएको निष्कर्ष निकाल्ने स्व.मदन भण्डारीको विचारलाई अंगीकार गरिए नेकपालाई मधेशमा विस्तार गर्न सकिने आधारहरू संयोजक त्रिपाठीले बैठकमा राखे । नेपाली कांग्रेसको आधारभूमि मधेश नै रहे पनि विस्तारै कमजोर हुँदै गइरहेको विश्लेषण गर्दै भन्दै त्रिपाठीले भने, ‘मधेशमा कांग्रेसको स्थान ३० प्रतिशत मात्र सुरक्षित छ, अन्य बाँकी ७० प्रतिशत मतलाई नेकपाले आकर्षित गर्न सके मधेशमा विस्तार हुनेछ ।’ राजनीतिक समूह नेकपामा मिल्यो भने मधेशमा नेकपा बलियो हुने तर्क नेताहरूको थियो ।

संयोजक त्रिपाठीले नेकपालाई मधेशमा विस्तार गर्ने कारणहरू यसप्रकार उल्लेख गरे, ‘मधेशी र थारू जनतामा नेकपा लोकप्रिय हुन सकेन, यसको ऐतिहासिक कारणहरू छन् । वि.सं. २०१५ सालको निर्वाचनमा भन्ने हो भने २ वटा सिट पाटन र पाल्पाबाट र २ रौतहटबाट मात्रै कम्युनिष्ट पार्टीले जितेको थियो । पछि आएर के कारणले लोकप्रिय हुन सकेन, त्यसको विवेचना गर्न र मधेशलाई बुझ्न आवश्यक छ ।‘ २०४९ सालमा स्व.मदन भण्डारीले एउटा कार्यदल बनाउनुभयो । उहाँले बुझ्नुभयो कि कम्युनिष्ट आन्दोलनलाई मधेशसँग जोड्न सकिएन । तत्कालीन नेकपा एमालेको महाधिवेशनले आफ्नो प्रतिवेदनमा मधेशका सवालहरू राखेको थियो ।

तर, उहाँको अवसानपछि त्यो विचारको पनि अवसान भयो र त्यो कार्यदलको पनि अवसान भएर गयो । माओवादीको जनयुद्ध उत्कर्षमा पुग्दा विस्तारका लागि विभिन्न जातीय मोर्चाहरू बनायो तर पछिल्लो चरणमा जब संविधान जारी गर्ने बेलामा ती पार्टीहरूले लिएका पूराना अडानमा पनि कायम रहन सकेनन् । त्रिपाठीकाअनुसार नेकपा पार्टी आफैमा मधेशी र थारू जनतामा लोकप्रिय किन हुन सकेन भन्ने आवश्यक छ । ‘उहाँहरूले जिम्मेवारी बहन गर्नुपर्छ । २०१७ सालपछि बढी प्रहारको निशाना कांँग्रेस भयो । काँग्रेसको कर्मभूमि नै मधेश रह्यो । त्यसैले काँग्रेस जोडिएको छ त्यहाँ । अझ पनि २८ देखि ३० प्रतिशत मत मधेशमा काँग्रेसको सुरक्षित छ । तर, ७० प्रतिशत मत काँग्रेसबाहिर छ । त्यसलाई आकर्षित गर्न सक्ने नीति, सिद्धान्त, कार्यक्रम र व्यवहार नेकपासँग छैन,’ त्रिपाठीको तर्क छ ।

नेकपाको स्थायी कमिटीको बैठक लगत्तै स्वतन्त्र राजनीतिक समूहले सार्थक वार्ता गर्ने तयारी गरेको छ । नेकपाका नेतृत्वलाई आफूहरूले केही बुँदाहरू दिएको भन्दै त्रिपाठीले भने, ‘हामीले बुझाएका बुँदाहरू उहाँहरू सकारात्मक हुनुहुन्छ । तर अहिलेसम्म ती बुँदाहरूमा ठोसरूपमा प्रस्तुत नभएकोले एकता प्रक्रिया रोकिएको हो ।’ उनले नेकपामै प्रवेशका लागि आफूहरू मरिहत्ते नगरेकोसमेत दाबी गरेका छन् । नेकपा यदि आफूहरूको बुँदाअनुसार आएन भने केही दिनसम्म यो समूहलाई एउट अभियानको लाने र जनताको भावना बुझ्ने उनले जिकिर गरे । आगामी राजनीतिक यात्रा तय गर्दा व्यापकरूपमा जनतासमक्ष जाने र पछि पार्टीको रूपमासमेत दर्ता हुनसक्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ