थारु समुदायका लागीे विवाह भवन तथा नाच घर शिलान्यास

समाचार

5/25/2019

वीरगंज, ११ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुर थारु बस्तीमा निर्माण हुन लागेको विवाह भवन तथा थारु नाच घरको एक कार्यक्रमका बीच संघीय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

सांसद पूर्वाधार विकाश साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको थारु नाच घर तथा विवाह भवनको समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य प्रदिप यादवले शिलान्यास गरेका हुन् ।

शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले अब बन्ने यस विवाह भवन तथा थारु नाच घरले आफ्नो धर्म संस्कृति पहिचान जोगाउन सधै एकजुट भएर लाग्ने थारु समुदायका लागि ठूलो सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

नेपालको धर्ती पुत्रका रुपमा रहेका थारु समुदायले आफ्नो धर्म संस्कृति जगेर्ना, रक्षा तथा पहिचान जोगाई राख्न अन्य समुदायभन्दा थारु समुदाय सदैव सक्रिय रहने गरेको प्रति सांसद यादवले प्रसंशा समेत गरे ।

सांसद यादवले माघी पर्व तथा अन्य थारु महोत्सवमा मात्र देखिने थारु नाच तथा थारु संस्कृति झल्किने झाँकी प्रदर्शन अब उपरान्त यस थारु नाच घरमा पनि विवाह तथा अन्य उत्सवमा पनि देख्न पाइने भएकोले यस थारु नाच घरले आफ्नो संस्कृति जोगाउन थारु समुदायलाई ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका नेता एवम प्रदेश सांसद जन्नत अंसारी, वीरगंज महानगर कार्यपालिका सदस्य सुशिल साह कानु, पार्टीका नेता एवम् पूर्व गाविस अध्यक्ष मुखदेव पञ्जियार, पार्टीका नेता सुलेमान अंसारी, जितेन्द्र यादव, दाउद अंसारी, फुला देवी, मइमुर्ती पासवान, विन्दा देवीलगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त विवाह भवन तथा थारु नाच घर २० लाखको लागतमा निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ