बाँके, २८ माघ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक ओलीले जस्तोसुकै अपराधका घटनामा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरेको बताए । स–साना घटनामा उन्मुक्ति दिँदा अपराधका घटना बढ्दै गएको तर्फ संकेत गर्दै प्रहरी उपरीक्षक ओलीले भने, ‘स–साना कुटपिटका घटनामा मात्र सम्झाएर छोड्ने गरेका छौं ।’
प्रहरी उपरीक्षक ओलीले गत माघ १५ गते नेपालगन्ज–२ घरबारीटोलका विशाल सुनारमाथि भएको आक्रमणका घटनामा संलग्नलाई खोज्ने क्रममा तीन जनालाई हतियार सहित फेला पारिएको जानकारी दिएका छन् । प्रहरीले नेपालगन्ज न्यूरोडका सुवास शाही, सद्दाव अहमद र जीवन आरसीलाई तरवार सहित फेला परेको हो ।
‘पक्राउ परेकाहरुलाई अभद्र व्यवहार कसुरमा अनुसन्धान गरिरहेका छौं’, उनले भने । प्रहरी उपरीक्षक ओलीले नेपालगन्जमा लागुऔषध नियन्त्रणका उद्देश्यले पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याएपछि लागुऔषध कारोबारी र सेवनकर्ता विरुद्ध प्रहरीलाई थप सक्रिय पारिएको जानकारी दिएका छन् । ‘लागुऔषध विरुद्ध सूचना संयन्त्रलाई सक्रिय बनाएका छौं’, ओलीले भने ।
‘लागुऔषध सेवनका कारण परिवारले समेत हैरानी व्यहोर्नु परिरहेको छ, त्यसैले परामर्श केन्द्र मार्फत पुनस्थापनाको प्रयास सुरु गरेका छौं,’ बाँकेमा लागुऔषध रोगका रुपमा फंैलदै गएको प्रहरी उपरिक्षक ओलीले बताए ।
तपाईको प्रतिक्रिया