जनकपुरधाम, २१ जेठ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अधिकार प्राप्तिका लागि दलितहरु आफै सशक्त हुनु पर्ने बताएका छन् ।
छुवाछुत मुक्त राष्ट्र नेपाल घोषणा दिवसको अवसर पारेर दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसक्ने बताए ।
प्रदेश सरकार दलितमैत्री रहेको दावी गर्दै उनले दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाइसकेको उल्लेख गरे ।
सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको दावी गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताए ।
अबको दिनमा दलितहरुले आफनो को र परायाको भन्ने छुट्याउने बेला आइसकेको जिकीर गर्दै मुख्यमन्त्री राउतले २०४७ सालको परिवर्तन पछि दलितहरुले के पायो भन्ने प्रश्न आफैसँग गर्न आग्रह समेत गरे ।
दलित अगुवा उमेश विसुन्केको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोरसहित प्रदेशभरिका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया